सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुला सीमा र प्रविधिको दुरुपयोगले कञ्चनपुरमा मानव बेचबिखनको नयाँ जोखिम

२०८२ पुष १३, १०:५१ खबर संवाददाता

कञ्चनपुर: भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्त तथा चिनजानकै व्यक्तिको संलग्नताले कञ्चनपुर मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिमयुक्त क्षेत्र बन्दै गएको छ। मुख्य नाका गड्डाचौकीसँगै वैकल्पिक र अवैध मार्गको प्रयोग बढ्दै जाँदा बेचबिखन नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार मानव बेचबिखनको स्वरूप समयसँगै परिवर्तन हुँदै गएको छ। पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटनको आवरण र अनलाइन माध्यमबाट हुने ‘साइबर ट्राफिकिङ’का घटना बढिरहेका छन्। गरिबी, बेरोजगारी, सीपको कमी र सामाजिक सञ्जालको दुरुपयोगसँगै आफन्तकै संलग्नता प्रमुख चुनौतीका रूपमा देखिएको उनले बताए।

खुला सीमा, प्रविधिमैत्री निगरानीको कमी, प्रमाण संकलनमा कठिनाइ र मुद्दा प्रक्रियामा हुने ढिलाइले बेचबिखन नियन्त्रण कमजोर बनेको छ। पीडित र परिवारको मौनता तथा उजुरी गर्न डराउने प्रवृत्तिले तस्करहरूको मनोबल बढेको भन्दै उहाँले पछिल्लो समय बाइक र स्थानीय ट्याक्सीजस्ता निजी सवारीसाधन प्रयोग गरी वैकल्पिक मार्गबाट सीमा पार गराउने नयाँ शैली अपनाइएको उल्लेख गरे।

बेचबिखनमा परेकाहरूलाई यौन शोषण, बालश्रम, जबर्जस्ती आपराधिक गतिविधि र अङ्ग प्रत्यारोपणसम्म प्रयोग गर्ने गरिएको पाइएको छ, जसमा अन्तर्राष्ट्रिय अपराध सञ्जालको समेत संलग्नता देखिने गरेको माइती नेपालले जनाएको छ।

पछिल्लो एक वर्षमा गड्डाचौकी र आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा रहेका २०९ महिला तथा बालबालिकालाई सीमाबाटै उद्धार गरिएको छ। तीमध्ये ९० बालबालिका र ११९ महिला छन्। उद्धार गरिएकामध्ये गड्डाचौकी नाकाबाट ८९, महेन्द्रनगर बसपार्क तथा अन्य क्षेत्रबाट ६४, महाकाली चारलेन पुलबाट ३१ र झोलुङ्गे पुल क्षेत्रबाट २९ जना रहेका छन्।

उद्धार गरिएकामध्ये १८२ जना सुदूरपश्चिम प्रदेशका नागरिक हुन्। जिल्लागत रूपमा कञ्चनपुरका १००, कैलालीका ३२, बैतडीका १४, बझाङका १० र डोटीका आठ जना रहेका छन्।

पछिल्लो तीन वर्षमा भारतका विभिन्न सहरबाट ४९ महिला तथा बालबालिकाको सकुशल उद्धार गरिएको छ। सन् २०२३ मा २५, २०२४ मा १४ र २०२५ मा १० जनाको उद्धार भएको छ। पछिल्लो एक वर्षमै बिहार, चण्डिगढ, मुम्बई, दिल्ली र हैदरावादबाट आठ बालिका र दुई महिलाको उद्धार गरिएको माइती नेपालले जनाएको छ।

यस अवधिमा १८९ वटा खोजतलास निवेदन दर्ता भएका छन्, जसमा ८१ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ। खोजतलासका निवेदनमध्ये १६३ जना सुदूरपश्चिम प्रदेशकै नागरिक छन्।

मानव बेचबिखन नियन्त्रणका लागि सीमाक्षेत्रमा १२ हजार ८५८ सवारीसाधन जाँच गरिएको छ भने ४४ हजार ५८१ जनालाई सुरक्षित बसाइँसराइ र बेचबिखनविरुद्ध परामर्श दिइएको छ। साथै २२७ जनालाई मनोसामाजिक परामर्श, २१७ जनाको पारिवारिक पुनर्मिलन र ३३ जनालाई सीमाबाटै परामर्श दिएर घर फर्काइएको छ।

समुदायस्तरमा घरदैलो कार्यक्रम, विद्यालयमा सचेतनामूलक गतिविधि र यातायातकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको छ। प्रहरी प्रशासनसँगको समन्वयमा जबर्जस्ती करणीसम्बन्धी चार र मानव बेचबिखनसम्बन्धी एक मुद्दा दर्ता भई कानुनी प्रक्रियामा रहेका छन्।

खुला सीमा र प्रविधिको बदलिँदो प्रयोगसँगै मानव बेचबिखनको जोखिम बढिरहेकाले सीमास्तरीय निगरानी, समुदाय सचेतना र बहुपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको माइती नेपालले जोड दिएको छ।
 

कमेन्ट लोड गर्नुस