सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुपदार्थ दुर्व्यसनीमा फसेका युवालाई प्रेरित गर्दै समर्पण सुधार केन्द्र

२०८२ पुष १२, ०३:३८ खबर संवाददाता

अनुभव भट्ट, धनगढीः शुक्रवार धनगढीको समर्पण सुधार केन्द्रले लागुऔषध दुर्व्यसनीनीमा फसेका र पुनःस्थापनाको प्रक्रियामा रहेका केही युवाहरुको पहिलो सुधार वर्षको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। 

लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने र पुनःस्थापना केन्द्रमा उपचाररत व्यक्तिहरूलाई प्रेरणा तथा हौसला प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
सुधार केन्द्रका सञ्चालक सबिन शाहका अनुसार, दुई वर्षको अवधिमा केन्द्रले करिब ५ सय  दुर्व्यसनीको उपचार गरेको छ। यस अवधिमा केन्द्रले विभिन्न सचेतनामूलक कार्यक्रम, अभियान र धनगढी उपमहानगरपालिकाको “हाम्रो धनगढी, सफ धनगढी” कार्यक्रममा सक्रिय सहभागीता जनाएको उनले बताए।

सुधार केन्द्रका अर्का सञ्चालक रमेश बिनाडीले विश्व स्वास्थ्य संगठनले लागुऔषध प्रयोगसम्बन्धी विकार र लतलाई स्वास्थ्य अस्वस्थताको रूपमा मान्यता दिएको भएता पनि समाजमा यस विषयमा अझै चेतनाको अभाव रहेको बताए। ‘लामो समयसम्म लागुऔषध प्रयोग गर्दा व्यक्ति शारीरिक, मानसिक र आध्यात्मिक रूपमा प्रभावित हुन्छ, त्यसैले सुधार प्रक्रियामा धैर्य आवश्यक छ।’ उनले भने। 

त्यस्तै मनोचिकित्सक डा. गणेश खड्काले उपचाररत दुर्व्यसनीहरूलाई सुधारतर्फ प्रोत्साहित गर्दै उपचारमा जोड दिनुपर्ने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सुरज रोकायाले पनि लागुऔषध नियन्त्रण र सचेतनामूलक कार्यक्रममा प्रहरी सक्रिय रहेको उल्लेख गर्दै पूर्व दुर्व्यसनीहरूले सञ्चालन गरेको सुधार केन्द्रलाई सकारात्मक उदाहरणको रूपमा लिने बताए।

समर्पण सुधार केन्द्र वि.सं. २०८० मा चार जना पूर्व दुव्र्यसनी रमेश बिनाडी, सौरभ पाण्डे, सबिन शाह र सन्तोष कुँवरद्वारा स्थापना गरिएको हो।

लामो समयसम्म दुर्व्यसनमा फसेपछि आफैं पुनःस्थापित भएका उनीहरूले अरूलाई पनि जीवनमा फर्किन सहयोग गर्ने र समाजमा योगदान गर्ने उद्देश्यले यो केन्द्र सञ्चालनमा ल्याएको सञ्चालकले बताएका छन्। 

कार्यक्रममा सामाजिक कार्यकर्ता, सुधार केन्द्रका पदाधिकारी, डाक्टर, र प्रहरी अधिकारीहरूको उपस्थिती रहेको थियो।

कमेन्ट लोड गर्नुस