सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलास्थित महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटरेबल पुल सञ्चालनको अन्तिम तयारी

२०८२ पुष ११, ०५:४५ खबर संवाददाता

दार्चुलाः दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने मोटरेबल पुल सञ्चालनको अन्तिम तयारी थालिएको छ । नेपालको महाकाली नगरपालिका–८, असिगडा र भारतको धारचुला तहसिल अन्तर्गत पर्ने छारछुम क्षेत्रमा निर्माण गरिएको ११० मिटर लम्बाइ भएको दुई लेनको सो मोटरेबल पुल सञ्चालनको अन्तिम तयारी भइरहेको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिए। 

आर्थिक वर्ष २०७९/८० को असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा सो पुलको शिलान्यास गरेका थिए। पुलनजिक पर्ने नेपालतर्फको जग्गा प्राप्तिको काम पूरा भइसकेको तथा भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने संरचना निर्माण हुने बित्तिकै पुल सञ्चालन गरिने उनले बताए। 

पुल निर्माणको काम सबै भइसकेको तथा नेपालतर्फको पुल छेउमा पर्खाल निर्माणको काम भइरहेको पुल निर्माणमा संलग्न निर्माण व्यवसायीका प्रतिनिधि एवं इन्जिनियर सितेन्द्रपाल कोलीले जानकारी दिए। सम्झौता अनुसार पुल निर्माणको काम २०२३ अक्टोबरमा सक्नुपर्ने भए पनि थप काम गर्नुपर्ने भएपछि पुल निर्माणको काम लम्बिएको उनले बताए।  

पुल निर्माणको काम भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले गरेका थियो । जम्मा बत्तिस करोड अन्ठानब्बे लाख भारतीय रुपियाँको लागतमा पुल निर्माण भएको हो । यसैबिच नेपाल–भारत जोड्ने मोटरेबल पुलको बिहीबार भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्माले स्थलगत अनुगमन निरीक्षण गरेका छन्। 

राजदूत डा. शर्माले पुल निर्माणको कार्यप्रगति, जग्गा प्राप्तिको विषय र पुल सञ्चालनको तयारीका बारेमा जानकारी लिएको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी दाहालले बताए। साथै उनले सदरमुकाम खलङ्गाको पारिपट्टि महाकाली नदीकिनारमा भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा समेत जानकारी लिएको बताए। तटबन्ध निर्माणका विषयमा राजदूत डा. शर्माले राजदूतावासमार्फत कूटनीतिक पहल गर्नेतर्फ सङ्केत गरेको पनि बताए। 

नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणले दुई देशबिचको व्यापारिक, पर्यटकीय र सांस्कृतिक पक्षमा महत्वपूर्ण टेवा पुग्ने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेशसिंह थापाले बताए। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भारत जोड्न मोटरेबल पुल दार्चुलामा निर्माण भएको छ । पुल सञ्चालनमा आएपछि दार्चुला, बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले बताएका छन्।   
 

कमेन्ट लोड गर्नुस