जेनजी सहिदको घरमा सरकारी टोली
बैतडीः जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक साउदको परिवारको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोली उनको घरमा पुगेको छ।
साउदको घरमा गएर पारिवारिक अवस्थाबारे जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। उनले भने, सहिद परिवारको अवस्थाबारे जानकारी लिन उनको घरमापुगेका हौंँ। दीपकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेका छौंँ । परिवारलाई राज्यका तर्फबाट भेटवार्ता र सरकारको भएको महसुस गराउन र सान्त्वना दिन हामी प्रयासरत छौँ ।”
भेटवार्ताका क्रममा परिवारका कुनै सदस्यलाई रोजगारीको व्यवस्था गर्न सकिने विषयमा पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। उनले भने , 'सहिद परिवारका सदस्यलाई रोजगारसँग जोड्ने र थप सहयोग गर्न पहल गर्नेछौँ। चौधरी ग्रुपले रोजगारी दिने जानकारी दिएपछि प्रक्रिया अघि बढाइएको हो।'
प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली भेट्न आएर पारिवारिक अवस्था बुझिदिँदा केही राहत महसुस भएको सहिद साउदकी आमा लक्ष्मी साउदले बताईन्। उनले भनिन्, 'घरमै आएर हाम्रो अवस्था बुझे, सान्त्वना दिए र रोजगारी दिने विषयमा छलफल भएको छ।'
दीपकको परिवारलाई यसअघि सरकारको तर्फबाट रु १५ लाख र शिवनाथ गाउँपालिकाले रु एक लाख सहयोग गरेको थियो। बीस वर्षीय दीपकलाई जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँको कालीमाटीमा गोली लागेको थियो।
गोली लागेर गम्भीर घाइते उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा भदौ २७ गते मृत्यु भएको थियो। साउदले कक्षा १२ पास गरी कोरिया जानका लागि काठमाडौँमा भाषा सिकिरहेका थियो।