सुदूर नेपाललाई विश्वसँग जोड्दै

मार्तडी–कोल्टी सडक अझै कालोपत्रे नहुँदा दुर्घटनाको जोखिममा बढदै

२०८२ पुष १०, ०३:२२ खबर संवाददाता

धनगढी: बाजुराको सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन। लामो समयदेखि सडक पिच नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँलगायत विभिन्न स्थानबाट मार्तडी–कोल्टी आवतजावत गर्ने लामो दूरीका सवारी साधन दुर्घटनाको उच्च जोखिममा परिरहेका छन्।

ठेकेदार कम्पनीले झण्डै पाँचदेखि सात वर्षअघि नै सडक कालोपत्रेको जिम्मा लिए पनि काम अझै पूरा हुन नसकेको स्थानीयको गुनासो छ। सडक कालोपत्रे नहुँदा यात्रा अत्यन्त जोखिमपूर्ण बनेको सुदूरपश्चिम यातायातका बस चालक मदन कार्कीले बताए।

उनले भने, “मार्तडी–कोल्टी सडकमा सवारी चलाउन अहिले निकै सकस छ। स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर बाध्य भएर गाडी सञ्चालन गरिरहेका छौँ।”
सडक सञ्चालनमा आए पनि खाल्डाखुल्डीका कारण लामो दूरीका सवारी साधनलाई जोखिम बढ्दै गएको उनले बताए।

२०७६ साल असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि, काठमाडौँ र बाँनिया कोटेश्वर जे.बि. प्रालि, हेटौँडाले २०७८ असारभित्र काम सम्पन्न गर्ने गरी सडक निर्माणको ठेक्का लिएका थिए। मार्तडी बसपार्कदेखि चुथीसम्मको करिब नौ किलोमिटर सडक २३ करोड रुपैयाँमा ठेक्का दिइएको थियो भने चुथीदेखि ढम्कने ६ किलोमिटर र ढम्कनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक ६२ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो।

मार्तडीदेखि चुथीसम्मको सडक पिच सम्पन्न भए पनि ढम्कनेदेखि कोल्टीसम्मको करिब ३१ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन। ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले हिउँद र बर्खा दुवै समयमा सास्ती खेप्नुपरेको छ।

मार्तडी–कोल्टी सडक कालोपत्रेका लागि ८५ करोड रुपैयाँमा ठेक्का लिएका ती दुई कम्पनीले ३५ करोड रुपैयाँभन्दा बढी रकम पहिलो किस्ताका रूपमा बुझिसकेका छन्। यद्यपि काम भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।

कोल्टीमा कात्तिक महिनादेखि बस सञ्चालन भएको दुई महिनामै सुदूरपश्चिम र महाकाली यातायातका दुईवटा बस दुर्घटना भइसकेका छन्। ती दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी यात्रु घाइते भएका थिए।

ठेकेदार कम्पनीका मालिक राजु बानीयाँले आफूले अरूलाई काम जिम्मा दिएको तर उनीहरूले काम नगरेकाले मार्तडी–कोल्टी सडक निर्माणमा ढिलाइ भएको बताए।
 

कमेन्ट लोड गर्नुस