सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली घोडाघोडी क्याम्पसको अध्यक्ष हुन तीन ठुला पार्टीको गठबन्धन 

२०८२ पुष ९, ११:५८ खबर संवाददाता

धनगढी: कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्षका लागि काँग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धनका साझा उम्मेदवार लक्ष्मण न्युरे र स्वतन्त्र उम्मेदवार डबल शाहबीच प्रतिस्पर्धा हुने भएको छ। न्यूरे तीन दलीय गठबन्धनका साझा उम्मेदवार हुन् भने शाहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

काँग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धनबाट आफू साझा उम्मेदवार रहेको न्यूरेले दिनेशखबरलाई बताए। उनले आफ्नो प्यानलको सात जना सर्वसम्मत भएको तर अध्यक्ष र चार जना सदस्यमा शाह र अन्यले उम्मेदवारी दिएकाले  निर्वाचन हुने भएको बताए।क्याम्पस सञ्चालक समितिको निर्वाचनका लागि शनिबार उम्मेदवारहरूको मनोनयन दर्ता भएको हो।

घोडाघोडी बहुमुखी क्याम्पसको नेतृत्व चयनका लागि तीन दल विरुद्ध स्वतन्त्र नागरिकको हैसियतले शाहले उम्मेदवारी दिएको बताएका छन्।

क्याम्पस सञ्चालक समितिको नेतृत्व छनोटका लागि बिहीबार निर्वाचन हुने र मतदाताको संख्या ५७७  रहेको बताइएको छ।
शाह पनि प्यानलसहित स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका हुन्। शाहको प्यानलबाट उपाध्यक्ष पदका लागि भानुभक्त आचार्य र न्युरे प्यानलबाट आयुष जोशी उम्मेदवार बनेका छन्।

खुला सदस्य तीन पदका लागि प्रेमप्रसाद कँडेल, जनक जोशी, रमेश कुमार बस्नेत र सीता कुमारी चौधरी गरी चार जनाको उम्मेदवारी परेको छ। महिला सदस्य एक पदका लागि नारायणी कुमारी गौतम र राधा कुमारी पाण्डेबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, दलित/जनजाति दुई पदका लागि मनोज कुमार सुनार, जगत बहादुर विश्वकर्मा र अमन चौधरी गरी तीन जनाले मनोनयन दर्ता गराएका छन्।

कमेन्ट लोड गर्नुस