सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारी गाउँपालिकामा बालुवा रोयल्टी हिनामिनामा अख्तियारको छानबिन सुरु

२०८२ पुष २, ०३:२० खबर संवाददाता

धनगढी: कैलालीको कैलारी गाउँपालिकामा बालुवा उत्खननको रोयल्टी हिनामिना भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरले छानबिन सुरु गरेको छ। सूचना अधिकारी चेतराज भट्टका अनुसार उजुरी परेपछि छानबिन थालिएको हो।

आर्थिक वर्ष २०८१-८२ मा पालिकाले २६ वटा ठेली राजस्व सङ्कलकलाई दिएको थियो, तर अहिलेसम्म सात ठेलीबाट मात्र रसिद काटेर तीन लाख २० हजार रुपैयाँ राजस्व दाखिला भएको छ। बाँकी १९ ठेलीको हिसाबकिताब छैन। रसिद नम्बर १–२०० सम्म ९६० रुपैयाँको दर, र २०१–३५० सम्म ८५० रुपैयाँको दरले रोयल्टी सङ्कलन गरिएको थियो।

तीन पटक ठेक्का नलागेपछि गाउँपालिकाले तीन अस्थायी कर्मचारी—लाहुराम चौधरी, रञ्जिता राना र राजु बराल—नियुक्त गरी ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन गरेको थियो। लाहुराम चौधरीले २५ ठेलीबाट सङ्कलित राजस्व पालिकामा बुझाएको दाबी गरेका छन्।

तर पालिकाले दिएको २६ ठेलीभन्दा बाहिर १,३०१ नम्बरको रसिद काटेर रोयल्टी सङ्कलन गरिएको भेटिएको छ। ३५१ देखि १,३०० नम्बरको रसिदको हिसाबकिताब गायब छ। स्थानीय रेबन्त बोहोराले बाँकी ठेलीको राजस्व छ महिनासम्म दाखिला नहुँदा र पालिकाले छानबिन नगरेको विषय गम्भीर शङ्का उत्पन्न गरेको बताए।

बोहोराले आर्थिक वर्ष २०८०-८१ मा पनि अस्थायी कर्मचारीमार्फत यस्तै अनियमितता भएको भन्दै त्यसको छानबिन आवश्यक रहेको औँल्याए।

कमेन्ट लोड गर्नुस