सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन नगरपालिकाद्धारा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इन्डक्सन चुलो वितरण

२०८२ पुष १, ०३:१२ खबर संवाददाता

बैतडीः बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विद्युतीय (इन्डक्सन) चुलो वितरण गर्ने अभियानलाई निरन्तरता दिएको छ।

महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर गएको मंसिर १९ गते वडा नं ८, ९ र १० का २३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इन्डक्सन चुलो वितरण गरिएको थियो। त्यसपछि वडा नं ७ का ७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि चुलो प्रदान गरिएको थियो।

यसैक्रममा मंगलबार पाटन नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा वडा नं २ देखि ६ सम्मका ६४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

नगरपालिकाभर रहेका १ सय ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इन्डक्सन चुलो वितरण गर्ने योजना अनुसार अब वडा नं १ का १५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई केही दिनभित्रै चुलो वितरण गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको कार्यबोझ घटाउने, वन तथा वातावरण संरक्षणमा टेवा पुर्याउने र उनीहरुलाई थप प्रोत्साहन गर्ने उद्देश्यसहित इन्डक्सन चुलो वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गौरीसिंह रावलले महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै नगरपालिका स्तरबाट यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताए।

त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरुले नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनीहरुको सम्मानस्वरूप कार्यक्रम आयोजना गरिएको बताए।

कमेन्ट लोड गर्नुस