सुदूरपश्चिम प्रदेश सभाको बैठक अझै अनिश्चित!
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक कहिले बस्ने भन्ने टुङ्गो अझै लागेको छैन। जेन्जी आन्दोलनमा जलाइएको प्रदेश सभा भवनको मर्मत नसकिएकाले सभा बस्ने बारे टुङ्गो नलागेको हो। गत भदौ २४ मा आन्दोलनकारीले सुदूरपश्चिम प्रदेश सभामा समेत आगजनी गरेका थिए।
अहिले प्रदेश सभाको मर्मतको काम भइरहेको छ। प्रदेश सरकारले भवन निर्माण गर्न २० लाख बजेट निकासा गरेको थियो। उक्त बजेटबाट सभा हल मर्मत भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए।
सूचना अधिकारी जैसीले प्रदेश सभा भवन मर्मत गर्दै अझै कम्तिमा दुई हप्ता लाग्ने बताएका छन्। मर्मतको काम सकिएपछि फर्निचर र उपकरण जडानमा थप समय लाग्ने उनले बताए।
प्रदेश सभाको छैटौं अधिवेशन चलिरहेकै अवस्थामा जेन्जी आन्दोलनमा आगजनी भएको हो। प्रदेश सभा चलाउन नसक्दा प्रदेश सरकारको कानुन निर्माण र ऐन संशोधनको काम प्रभावित भएको छ।
जलेका फर्निचर र उपकरण जोड्न दातृ संस्थाको सहयोग
प्रदेश सभा मर्मतका लागि २० लाख बजेट दिएको प्रदेश सरकारले फर्निचर र उपकरण जडानका लागि बजेट दिएको छैन।
जसका कारण प्रदेश सभाले फर्निचर र उपकारणका लागि दातृ संस्थासँग सहयोग मागेको छ। प्रदेश सभामा फर्निचर र आवश्यक उपकरण जडान गर्न युएनडिपी, युएनएफपी दगायतका दातृ संस्थाले सहयोग गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।