कैलालीको चुरेबाट १२८ क्यूफिट सालको चिरान काठ बरामद
धनगढीः कैलालीको चुरे गाउँपालिका–५ स्थित मौरी गाउँअन्तर्गत बाँसपानी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रबाट अवैध रूपमा कटान गरिएको ठूलो परिमाणको सालको चिरान काठ बरामद गरिएको छ।
डिभिजन वन कार्यालय धनगढीका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरको नेतृत्वमा आइतवार गएको टोलीले विशेष सुराकीका आधारमा वन क्षेत्रबाट चोरी गरी गाउँका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएको १२८ क्यूफिट काठ फेला पारेको हो।
डिभिजनल वन अधिकृत ठाकुरका अनुसार गस्तीका क्रममा दुई सय १० थान चिरान गरिएका कडी र २३ थान फ्रेम बरामद गरिएको छ। तस्करहरूले जंगलमै हाते आरा प्रयोग गरी काठ चिरान गरेर बिक्रीका लागि सिस्नु र बाँसको झाङभित्र लुकाइ राखेको अवस्थामा उक्त काठ फेला परेको हो।
वन कार्यालयले काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र छिट्टै पक्राउ गरिने जनाएको छ।