कैलालीमा सर्पदंशका २७ घटना, चारको मृत्यु
कैलाली: कैलाली जिल्लामा चालु वर्षको श्रावण १ गतेदेखि मंसिर २५ गतेसम्म सर्पदंशका २७ वटा घटना दर्ता भएका छन्। ती घटनामा परेर चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलाली अन्तर्गतको विपद् व्यवस्थापन शाखाका अनुसार सर्पदंशबाट ज्यान गुमाउनेमध्ये तीन जना पुरुष र एक जना महिला रहेका छन्। सर्पदंशबाट प्रभावित अन्य व्यक्तिहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार गरिएको जनाइएको छ।
वर्षायाम तथा खेतीपातीको समयमा सर्पको सक्रियता बढ्ने भएकाले खेतबारी, झाडी तथा बस्ती आसपास सर्पदंशका घटना बढ्दै गएको विपद् व्यवस्थापन शाखाले जनाएको छ।
सरोकारवालाहरूले सर्पदंशबाट बच्न घर वरपरको वातावरण सफा राख्न, रातिको समयमा सावधानी अपनाउन तथा सर्पदंश भएको खण्डमा ढिलाइ नगरी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेका छन्।
समयमै उपचार प्राप्त भएमा सर्पदंशबाट हुने मृत्यु न्यूनीकरण गर्न सकिने भन्दै सम्बन्धित निकायहरूले जनचेतना अभिवृद्धि आवश्यक रहेको बताएका छन्।