कैलाली–४ मा काँग्रेसका १६ जनाले गरे उम्मेदवारीका लागि नाम दर्ता
धनगढी: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कैलाली–४ मा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फ गरी कुल १६ जनाले उम्मेदवारीका लागि नाम दर्ता गराएका छन्।
आइतबार र सोमबार तोकिएको शुल्क बुझाएर इच्छुकहरूले क्षेत्रीय कार्यसमितिसमक्ष उम्मेदवारी दर्ता गरेका हुन्। क्षेत्रीय सभापति बसन्त रोकायाका अनुसार प्रत्यक्ष तर्फ ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रत्यक्ष तर्फ वीरबहादुर बलायर, विजय कुँवर, लोकराज पाण्डे ‘आगो’, दिनेशराज जोशी, टेकराज जोशी, नैनसिंज महर र भुवन महराले उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै, राष्ट्रिय सभातर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभाका लागि डाक्टर लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरादत्त भट्टले नाम दर्ता गरेका छन् भने
समानुपातिक तर्फ ६ जनाले दर्ता गराएका छन्।
समानुपातिकतर्फ उम्मेदवार हुन यज्ञनिधि कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपाल बहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारले नाम दर्ता गराएका छन्।
काँग्रेस केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार कैलाली–४ ले तीनै तर्फका उम्मेदवार दर्ता खुला गरेको थियो।
सभापति रोकायाका अनुसार मंगलबार सबै उम्मेदवारबीच छलफल गरी अन्तिम नाम टुंग्याइने छ।