सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थमन्त्री खनालसँग मुख्यमन्त्री शाहले राखे धान,मल कोटा र सडक स्तरोन्नतिको माग

२०८२ मंसिर २२, ०८:५३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र अर्थमन्त्री रामेश्वर खनालबीच सोमवार भेटवार्ता भएको छ। भेटमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश र संघबीचका समसामयिक विषयमा छलफल गरेका हुन्।
मुख्यमन्त्री शाहले सुदूरपश्चिमका किसानलाई राहत हुनेगरी धान खरिद कोटा ५० हजार क्विन्टलले बढाइदिन र मलखाद अनुदान कोटा १३ प्रतिशत पुर्‍याइदिन आग्रह गरेका छन्। अहिले धान खरिद अनुमति ३५ हजार क्विन्टल भए पनि ३८,९४८ क्विन्टल खरिद भइसकेको उल्लेख गर्दै शाहले थप सहजीकरण आवश्यक रहेको बताए।
साथै डडेलधुरा–बागबजार–पोखरा सडक स्तरोन्नतिका लागि अविलम्ब ठेक्का प्रक्रिया अगाडि बढाई योजनालाई बहुवर्षीय बनाउन संघीय सरकारसँग अनुरोध गरिएको छ।
भेटमा प्रदेश सरकारका कृषि, भौतिक पूर्वाधार, उद्योग–वन, आर्थिक व्यवस्था र समन्वय सम्बन्धी समस्याहरूबारे विस्तृत विवरण अर्थमन्त्रीलाई बुझाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
अर्थमन्त्री खनालले जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको निरीक्षण गर्दै छानबिन प्रतिवेदनका आधारमा कारबाही र पुनर्निर्माणमा संघले सहयोग गर्ने प्रतिबद्धता जनाए।

कमेन्ट लोड गर्नुस