स्थानीय भत्ता माग गर्दै नेपाल शिक्षक संघ बैतडीद्वारा शिक्षा इकाइलाई ज्ञापन पत्र
बैतडी: नेपाल शिक्षक संघ बैतडीले स्थानीय तहले उपलब्ध गराउनुपर्ने स्थानीय भत्ता नपाएको भन्दै शिक्षा विकास तथा समन्वय इकाइलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ। संघका सचिव नारायण जोशीका अनुसार कानुनले व्यवस्था गरेअनुसार शिक्षकहरूले स्थानीय भत्ता पाउनुपर्ने भए पनि बैतडीसहित ३९ जिल्लाका स्थानीय तहहरूले भत्ता नदिएकाले सो व्यवस्था कार्यान्वयन गराउन माग गरिएको हो।
शिक्षकहरूले वर्षदिनमा साढे १० महिना स्थानीय भत्ता पाउने कानुनी प्रावधान रहेको भन्दै मासिक रूपमा स्थानीय भत्ता तथा तलब–भत्ता निकासा गरिदिन आग्रह गरिएको संघका अध्यक्ष गणेशसिंह भण्डारीले बताए। ज्ञापन पत्र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीलाई बुझाइएको संघले जनाएको छ।