नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको महासचिवमा साउँद निर्वाचित
धनगढीः नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको महासचिवमा मानबहादुर साउँद निर्वाचित भएका छन्। सुदूरपश्चिमबाट पहिलो पटक महासचिव पदमा प्रतिनिधित्व भएको हो। साउँद पहिले राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष भइसकेका छन् र उनी सुदूरपश्चिम समावेशी विद्यालयका संस्थापक अध्यक्ष पनि हुन्।
धनगढीमा आयोजित ३७औँ केन्द्रीय साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो। अध्यक्षमा साम्देन लामा र कोषाध्यक्षमा पुण्य प्रसाद सापकोटा चयन भए। त्यस्तै विभिन्न १५ जना सदस्य पदमा निर्वाचित भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए। विभिन्न शाखाका प्रतिनिधि, केन्द्रीय पदाधिकारी, कर्मचारी तथा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका पूर्व र वर्तमान अध्यक्षहरूको सहभागिता रहेको थियो। अधिवेशन आर्थिक वर्ष २०८२/८३ का भावी कार्यक्रम प्रस्तुत गर्दै सम्पन्न भयो।