सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हिउँदेबालीका लागि रसायनिक मल अभाव

२०८२ मंसिर १७, ०४:२७ खबर संवाददाता

धनगढी: कैलालीका किसानहरूलाई हिउँदेबालीका लागि आवश्यक रसायनिक मल (युरिया) पाउन गम्भीर समस्या देखिएको छ। मलको अभावका कारण किसानहरू रातभर जाग्राम बसेर लाइनमा उभिन बाध्य छन्, तर धेरैले मल नपाई रित्तोहात फर्किनुपर्ने अवस्था छ।

जिल्लाको भजनी नगरपालिकामा यो समस्या सबैभन्दा बढी देखिएको छ। कृषियोग्य जमिन धेरै रहेको भजनी क्षेत्रमा किसानहरूले गहुँ, तरकारी र अन्य हिउँदेबालीमा मल हाल्ने समयमै मल अभाव भएपछि खेती प्रभावित हुने चिन्ता बढेको छ। बिक्रि केन्द्रहरूमा रातभर लाइन बसे पनि सीमित मात्रामा मल वितरण हुँदा सबै किसानले पालो पाउन सकेका छैनन्।

भजनीका किसान हरि प्रसाद चौधरीले हरेक वर्ष जस्तै यस वर्ष पनि मलको समस्या दोहोरिएको गुनासो गरे। उनका अनुसार राति १२ बजे देखि नै लाइन बसेर पनि बिहान खाली हात फर्किनुपरेको छ। अर्का किसान भरत चौलागाँइले मल सहज रुपमा नपाउँदा उत्पादन घट्ने र लागत बढ्ने अवस्था आएको बताए। उनीहरूले सरकारसँग मल वितरण प्रणाली प्रभावकारी बनाइ सहज उपलब्ध गराउनुपर्ने माग गरे।

हाल जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल वितरण हुँदै आएको छ। साल्ट ट्रेडिङले केही दिनभित्र मल वितरण सुरु गर्ने तयारी गरेको जनाएको छ। तर कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार जिल्लामा प्राप्त हुने सरकारी कोटा सीमित भएकाले सबै किसानलाई एकैपटक मल उपलब्ध गराउन कठिन भइरहेको छ। प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवल सिंह बोगटीले सरकारी कोटा अनुसार मात्र मल वितरण गर्न पाउने भएकाले समस्या आएको स्वीकार गरे। उनका अनुसार “हामीसँग आउने मल सीमित छ, माग अत्यधिक छ। सबैलाई एकैसाथ उपलब्ध गराउन कठिन छ।” उनले भने कि केही दिनभित्र साल्ट ट्रेडिङले पनि मल वितरण सुरु गर्ने तयारी गरेको छ र अहिले नियमित रुपमा मल उपलब्ध भइरहेको बताए।
 

कमेन्ट लोड गर्नुस