डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए
डडेल्धुराः डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन्।
निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता सङ्ख्या बढेको हो। जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार नयाँ दर्तामध्ये एक हजार २७२ जनाले अनलाइन प्रणालीमार्फत विवरण भरेर मतदाता परिचयपत्रका लागि आवेदन गरेका छन्। उनका अनुसार ६२० जनाको नाम दर्ता बायोमेट्रिक विवरणका आधारमा गरिएको छ।
आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन खुला गरेको थियो। यस अवधिमा त्रुटि सच्याउन ७६ जना र नामावली स्थानान्तरणका लागि ३२५ जनाले अनलाइनमार्फत आवेदन दिएका कार्यालयले जनाएको छ।
डडेल्धुरामा जम्मा महिला ४५ हजार ९८३ र पुरुष ४५ हजार ९३६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदानस्थल पुनःव्यवस्थित गर्ने र मतदाता विवरण अद्यावधिक गर्ने काम तीव्रताका साथ जारी रहेको कार्यालयका प्रमुख अवस्थीले बताए।
उनका अनुसार जिल्लामा चार वटा नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको छ। विसं २०७९ को निर्वाचनमा १३९ मतदान केन्द्र र १०१ मतदानस्थल रहेकामा यसपटक एउटा पुरानो मतदानस्थल हटाई चार नयाँ मतदानस्थल थप्ने प्रस्ताव निर्वाचन आयोगमा पठाएको हो।