सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका औषधी व्यवसायी आन्दोलित

२०८२ मंसिर १५, ०५:०३ खबर संवाददाता

कञ्चनपुर: औषधी ऐन २०३५ को दफा ११ अन्तर्गतका उपदफा ३ र ५ खारेजीको माग गर्दै कञ्चनपुरका औषधी व्यवसायीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलित भएका छन्। उनीहरूले दैनिक दुई घण्टा औषधी पसल बन्द गर्दै विरोध जारी राखेका छन्। नेपाल औषधी व्यवसायी संघ, नेपाल पशुपक्षी औषधी व्यवसायी संघ र नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघमा आवद्ध व्यवसायीहरूले संयुक्त रूपमा आन्दोलन थालेका हुन्।

सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर व्यवसायीहरूले दफा ११ का उपदफा ३ संशोधन र उपदफा ५ खारेज गर्नुपर्ने माग दोहोर्याउँदै नयाँ संशोधनले व्यवसायीलाई पलायन हुने अवस्था सिर्जना गरेको बताए। नयाँ प्रावधानअनुसार दर्ता नवीकरण म्याद सकिएको भोलिपल्टदेखि १०० प्रतिशत जरिवाना लाग्ने र ३१औँ दिनपछि व्यवसाय स्वतः रद्द हुने व्यवस्था व्यवसायीविरोधी भएको उनीहरूको भनाइ छ। नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिमका अध्यक्ष गजेन्द्र लेखकका अनुसार यसले व्यवसायीलाई अन्यायपूर्ण रूपमा दवावमा पारेको छ।

व्यवसायीहरूले विसं २०८२ साउन १४ गते सरकारद्वारा गरिएको संशोधनले औषधि व्यवसायीलाई धराशायी पार्ने गरी दफा ११ परिमार्जन भएको आरोप लगाउँदै उपदफा ३ र ५ तत्काल खारेज गर्न माग गरेका छन्। मंसिर ११ गतेदेखि उनीहरूले औषधी पसलअगाडि कालो पट्टी बाँधेर र दैनिक दुई घण्टा व्यवसाय बन्द गरेर सांकेतिक आन्दोलन सुरु गरेका छन्। माग पूरा नहुन्जेल आन्दोलनका थप कार्यक्रम अघि बढाइने चेतावनी पनि दिइएको छ। (गोरखापत्रबाट साभार)

कमेन्ट लोड गर्नुस