एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंसिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन कायम राख्दै सबैभन्दा पहिले प्लेअफ पुग्ने टोली बनेको छ। १९ खेल सकिँदा पाँचै खेल जितेको सुदूरपश्चिम १० अंकसहित शीर्ष स्थानमा रहेको छ। अब उसको विराटनगर किंग्स र चितवन राइनोजसँग खेल बाँकी छ, जसमा पनि जित दर्ता गर्दै पहिलो क्वालिफायरमा अघि बढ्ने लक्ष्य छ।
अंकतालिकामा काठमाडौँ गोर्खाज ६ खेलमा ४ जितसहित दोस्रो, पाँच खेलबाट ८ अंक जोडेको विराटनगर तेस्रो र ४ खेलबाट ४ अंक जोडेको चितवन चौथो स्थानमा छन्। लुम्बिनी पाँचौँ, कर्णाली छैटौँ, पोखरा सातौँ र जनकपुर अंकविहीन हुँदै पुछारमा छ।
सुदूरपश्चिमले अपराजित यात्रामा पाँच फरक खेलाडीले प्लेयर अफ दी म्याच बन्ने प्रदर्शन गरेका छन्। हर्मित सिंहले पहिलो खेलमा ५३ रन र २ विकेटसहित उत्कृष्टता देखाए। दोस्रो खेलमा जोस ब्राउनले ३५ बलमा ६८ रन बनाए। तेस्रो खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन र ४ विकेट लिँदै टिमलाई जिताए। चौथो जितमा विनोद भण्डारीले अविजित ६९ रन जोडे भने पाँचौँ जितका नायक इशान पाण्डेय रहे, उनले ५६ रन बनाएका थिए। टोलीमा नौ स्थानीय खेलाडीको समावेश भएको छ, जसले टिमलाई सन्तुलन दिएको देखिन्छ।
प्रतियोगितामा सुदूरपश्चिमका चार खेलाडीले—विनोद भण्डारी, इशान पाण्डेय, जोस ब्राउन र हर्मित सिंह—अर्धशतक प्रहार गर्दै अग्रता लिएका छन्। अन्य टोलीका कुशल भुर्तेल, मार्टिन गुप्टिल, वायन पार्नेल, जोन सिम्पसनलगायतका खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। कर्णालीका मार्क वाट यस संस्करणमा शतक बनाउने एक्ला खेलाडी बनेका छन्।
बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहरा ११ विकेटसहित शीर्ष स्थानमा छन्। विराटनगरका सन्दीप लामिछाने र काठमाडौँका मिलिन्द कुमार तथा करण केसीले समान १० विकेट लिएका छन्। सुदूरपश्चिमकै हर्मित सिंह ९ विकेटसहित पहिलो पाँचमा छन्। रन बनाउने खेलाडीमा चितवनका रवि बोपरा २०४ रनसहित अग्रस्थानमा छन्। कर्णालीका मार्क वाट १८४ रन, लुम्बिनीका रोहित पौडेल १७४ रन, कर्णालीका प्रियाङ्क पञ्चाल र सुदूरपश्चिमका विनोद भण्डारी समान १६५ रन बनाएर पछि रहेका छन्।
उच्च स्कोर बनाउनेमा विराटनगर अग्रस्थानमा छ। उसले पोखराविरुद्ध २२० रन बनाउँदै एनपिएल इतिहासकै उच्च स्कोर दर्ता गरेको छ। सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाउँदै दोस्रो उच्च स्कोर दर्ता गरेको छ। सबैभन्दा कम स्कोर भने चितवनले बनाएको ८९ रन हो। यसअघि यो रेकर्ड सुदूरपश्चिमविरुद्ध ९४ रनमा समेटिएको कर्णालीको नाममा थियो। नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ र विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।