सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेलधुरा अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सुरु

२०८२ मंसिर १५, ०१:२१ रासस

डडेलधुरा: डडेलधुरा अस्पतालले बिरामीको चाप बढेसँगै ओपीडी सेवा अब दुई सिफ्ट—बिहान र बेलुका—मा सञ्चालन गर्न थालेको छ। सेवाको व्यवस्थापन र पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ कार्यविधि लागू गरिएको अस्पतालले जनाएको छ।

यसअघि एकै सिफ्टमा ओपीडी सञ्चालन हुँदा बिरामीलाई पालो कुर्न, टिकट काट्न र उपचार पाउन कठिनाइ हुने गरेको थियो। दिउँसो २ बजेपछि सेवा बन्द हुने भएकाले सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट आएका धेरै बिरामीले इमर्जेन्सी टिकट काट्नुपर्ने वा भोलिपल्ट पुनः अस्पताल धाउनुपर्ने बाध्यता थियो।

अस्पतालले पहिलो पटक दरबन्दी अनुसार ११ औं तहका मेडिकल सुपेरिटेन्डेन्ट पाएसँगै बिरामीको संख्या र आवश्यकता मूल्यांकन गरेर दुई सिफ्टमा सेवा सुरु गरिएको मेडिकल सुपेरिटेन्डेन्ट डा. सुधा देवकोटाले बताइन्। यसले इमर्जेन्सी टिकट काट्नुपर्ने झन्झट अन्त्य भएको उनको भनाइ छ।

दुई सिफ्टमा सेवा सुरु भएपछि टाढाबाट आउने बिरामीले पनि सहज र समयमै उपचार पाउन थालेका छन्। डडेलधुरा अस्पताल सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत सञ्चालनमा रहेको एक मात्र विशेष विशेषज्ञ सेवायुक्त अस्पताल हो।

कमेन्ट लोड गर्नुस