डिजेल/मट्टितेलको मूल्य घट्यो
काठमाडौँः नेपाल आयल निगमले डिजेल÷मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले घटाएको सो मूल्य आजदेखि लागू भएको छ।
निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।
यसैगरी निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ)को मूल्य भने बढाएको छ। निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ र अन्तरराष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ बढाइएको छ। मूल्य बढेसँगै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार १५ पुगेको छ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल÷मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ ६२ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमको भनाइ छ।