कष्ठकर जीवन बिताउँदै बाजुराका भुक्म्प पिडित
बाजुराः बाजुराको हिमाली गाउँपालिका–३, बिच्छ्यावासीलाई बर्सेनि दैवी प्रकोपको सामना गर्नुपर्ने बाध्यता रहेको छ। विगत तीन वर्षदेखि लगातार उनीहरूलाई हिउँदमा भूकम्प र बर्खाको समय बाढीपहिरोले घरबासविहीन बनाउन थालेको हो।
२०८० वैशाख २१ गते बिहीबार दिउँसो १ः१७ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यो भूकम्पले यहाँका अधिकांश घर जोखिममा परेका थिए । २०८२ साउन २८ गते राति ६ः३० बजे बिच्छ्याखोलामा आएको बाढीले यहाँका वडा नम्बर १, बिच्छ्या र ५ रुगिनमा झन्डै ४१ घरपरिवार विस्थापित भएका छन् । हिउँदमा भूकम्प र बर्खाको समय बाढीपहिरोले यसरी उठिबास गरेपछि पछिल्लो समय यहाँका स्थानीय अहिले चिसोको समयमा पनि खुला आकाशमा त्रिपालको बास गर्न बाध्य छन् ।
स्थानीय सरकारले वितरण गरेको त्रिपालले उनीहरूलाई यो हिउँदको चिसोमा बाहिर बस्न केही सहज बनाएको छ । घरबासका लागि भने कतैबाट पनि व्यवस्था नभएको बिच्छ्याकी धना बोहोराले बताईन्। उनले भनिन, “गत वर्ष भूकम्प आएर घर चर्किएको थियो । यस वर्षको साउन २८ गते राति बाढीपहिरो आएर त्यो घर सबै बगाएपछि चिसोका बेला अहिले त्रिपालको बासमा रात काट्ने गरेका छौँ।” जसरी हामीलाई यहाँको स्थानीय सरकारले खाद्यान्न, कपडालगायतका राहत सामग्री सहयोग गरेको थियो । त्यसै गरेर प्रदेश र सङ्घीय सरकारले पनि घरबासको व्यवस्था गरिदिए यसरी चिसोमा त्रिपालको बास बस्नु नपर्ने बोहोराले बताईन्।
२०८० वैशाखमा यही केन्द्रविन्दु भएर गएको भूकम्पले यहाँका दर्जनौँ घर चर्किएका थिए । त्यसैमा २०८२ साउन २८ गते राति बिच्छ्याखोलामा आएको बाढीपहिरोले हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण जोखिममा परेका छन् भने यहाँको वडा नम्बर ५, कवाडीमा पनि १६ घर बगाएको र ३२ घर पूर्ण क्षति भएका छन् । यहाँका सबै २४ घर विस्थापित र ४१ घर पूर्ण रूपमा क्षति गरेको थियो ।
बाजुराको यो ठाउँ बर्खाको समयमा पनि चिसो हुने ठाउँ हो । हिउँदको बेलामा त झनै चिसो हुन्छ । हिउँदमा पानी पर्नेबित्तिकै यहाँ बाक्लो हिमपातसमेत हुन्छ । यो अवस्थामा पनि यहाँका स्थानीयले त्रिपालको सहारामा रात काट्नुपर्ने बाध्यता छ । उनिहरु अहिले घरबासको पर्खाइमा रहेका छन् । जिल्ला विपत् व्यवस्थापन समिति बाजुरा, प्रदेश र सङ्घीय सरकारलाई उनिहरुको घरबासका लागि रकम माग गरेको तर हालसम्म कुनै सुनुवाइ नै नभएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।