सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ

तस्बीरः गोरखा पत्र
तस्बीरः गोरखा पत्र
२०८२ मंसिर १३, ०४:५४ खबर संवाददाता

कञ्चनपुरः निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ ।

चार वर्ष पहिले शिलान्यास गरिएको उक्त भवन विसं २०८० सालमा निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौँता गरिएको थियो । तर निर्माण कम्पनीको ढिला सुस्तीका कारण उक्त प्रशासकीय भवनको निर्माण कार्य समयमै सम्पन्न हुन सकेको छैन । भीमदत्त नगरपालिकाका निवर्तमान नगरप्रमुख सुरेन्द्र विष्टले विसं २०७८ जेठ १५ गते उक्त भवनको शिलान्यास गरेका थिए। 

शिलान्यास गरिएको दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी अनक जोशी अनक जोशी भे.जीसँग १६ करोड ४९ लाख ७६ हजार रुपियाँ लागतमा ठेक्का सम्झौता भएको थियो। सम्झौता भएको चार वर्ष बितिसक्दा समेत उक्त प्रमुख प्रशासकीय भवन पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको छैन ।

हाल उक्त भवनको ८० प्रतिशत भौतिक प्रगति भएको छ, भने ७७ प्रतिशत वित्तीय प्रगति भएको नगरपालिकाका इन्जिनियर जयराज भट्टले बताए। 

विसं २०८२ मङ्सिर मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने भन्दै भवनको तेस्रो पटक म्याद थप गरिएको थियो । तर गत असोज महिनादेखि निर्माण कम्पनीले विभिन्न कारणले नियमितरुपमा काम अगाडि बढाउन नसकेको इन्जिनियर भट्टले बताए। उनका अनुसार, मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने गरी यस अघि तेस्रो पटक भवनको म्याद थप गरिएको थियो । तर गत असोज महिना यता चाडपर्व लगायतका कारणले निर्माण कम्पनीले काम सुचारु नगरेको उनले बताए। समयमै निर्माण कार्य अगाडि बढाउन आग्रह गरिएको इन्जिनियर भट्टले बताएका छन्। 

निर्माण कम्पनी अनक जोशी भे.जीका सञ्चालक गणेश जोशीले भवनको पलस्तर, उपकरण, लिफ्ट जडानलगायतका कामहरू बाँकी रहेको बताए। “तेस्रो पटक थपिएको म्याद अनुसार, निर्माण सम्पन्न गर्न सकिने अवस्था छैन,’’ उनले भने, ‘‘अब अन्तिम पटक म्याद थप गरेर पूर्णरुपमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखेका छौँ ।” हाल प्रशासकीय भवनको भौतिक संरचना निर्माण कार्य भने, सम्पन्न गरिएको उनले बताए। 

संघ सरकारले समयमै बजेट नपठाउँदा निर्माण कार्य प्रभावित बनेको नगरपालिकाका इन्जिनियर जयराज भट्टले बताए। बजेट अभावका कारण समय/समयमा निर्माण कम्पनीले काम अगाडि बढाउन नमान्दा तोकिएकै समयमा निर्माण कार्य हुन नसकेको उनले बताए। 

अत्याधुनिक सेवा/सुविधा रहने गरी निर्माण भइरहेको उक्त चार तले भवनमा लिफ्टको समेत व्यवस्था गरिने छ । १० ओटा सभा गृह, नगर प्रमुख कक्ष, उपप्रमुख कक्ष, शाखा कार्यालय कक्षहरू, प्रशासनीक कक्ष लगायतको संग्रचनामा निर्माण भइरहेको तीन ब्लकसहितको उक्त भवन चार तला निर्माण गरिएको छ । हाल तीन वटै ब्लक निर्माण कार्य सम्पन्न भएको भीमदत्त नगरपालिकाका शव इन्जिनियर प्रेम सिंह धामीले बताए। 

हाल भीमदत्त नगरपालिकाले पुरानो भवनबाट छुट्टाछुट्टै भवन शाखाहरू सञ्चालन गरेर सेवा प्रदान गर्दै आइरहेको छ । नगरवासीलाई एउटै छातामुनिबाट सेवा प्रदान गर्ने उद्देश्यले निर्माण अगाडि बढाइएको उक्त भवन चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने अपेक्षा नगरपालिकाले गरेको छ । झन्डै दुई सय कर्मचारी रहेका नगरपालिकामा ठाउँको अभाव रहेको छ । भवन निर्माण सम्पन्न भएपछि सेवा ग्राहीहरुलाई एउटै भवनबाट सबै किसिमका सेवाहरू प्रदान गर्न सहजता हुने अपेक्षा गरिएको छ ।
 

कमेन्ट लोड गर्नुस