जेन्जी युवामाथि हातपात गर्ने एमाले कार्यकर्तामाथि कारबाहीको माग
धनगढी: एमाले नेता महेश बस्नेतविरुद्ध बुधबार गरिएको प्रदर्शनका क्रममा जेन्जी युवामाथि एमाले युवा संघका कार्यकर्ताले गरेको हातपातको छानबिन र कारबाहीको माग गर्दै जेन–जी समूहले जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएका छन्। उनीहरूले शान्तिपूर्ण आन्दोलनमा उक्साहट, धम्की, हातपात गरेर आक्रमणको प्रयाससम्म गरिएको दाबी गर्दै घटनाले आन्दोलनको संवैधानिक अधिकारमाथि ठाडो हस्तक्षेप भएको आरोप लगाए।
बिहीबार पनि जेन–जी युवा प्रशासन कार्यालय अगाडि पुगेर प्लेकार्डसहित प्रदर्शन गरेका छन्। जेन्जी अगुवा विष्णु खड्काले आक्रमणमा संलग्न व्यक्तिहरू पक्राउ नभएसम्म वार्ता नहुने बताए।
घटनाबारे युवा संघका नेता र जेन्जी समूहसँग छुट्टाछुट्टै छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए। बुधबारको प्रदर्शनकै क्रममा युवा संघका कार्यकर्ताले जेन्जी युवामाथि हातपात गरेका थिए।