बाजुराको गौमुलमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बाजुराः बाजुराको गौमुल गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ।
गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले एक औपचारिक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरेका हुन्। उनले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रतियोगिताले गौमुलका विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र एकता बढाउने विश्वास व्यक्त गरे।
प्रतियोगितामा छात्र छात्रा भलिबल, कवडी लगायत एथलेटिक्सतर्फका खेल सञ्चालन हुने गौमुल खेलकुद विकास समितिका अध्यक्ष बलबहादुर रोकायाले जानकारी दिएका छन्। कार्यक्रममा सहभागी विद्यालयहरूले विविध झाँकी, राष्ट्रिय संस्कृति झल्कने प्रस्तुति तथा आकर्षक कला समेत प्रदर्शन गरेका थिए। गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले आगामी दिनमा खेलकुदलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन्।