सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा आठ सय बढी नयाँ मतदाता थपिए

२०८२ मंसिर ७, ०२:४८ खबर संवाददाता

वाशुलिङ (बैतडी): आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी बीच बैतडीमा मतदाता नामावली दर्तामा उल्लेख्य वृद्धि भएको छ। निर्वाचन आयोगले तोकेको मङ्सिर ५ गतेसम्म जिल्लामा ८०४ जनाले नयाँ नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त प्रमुख पुरुषोत्तम जोशीका अनुसार अन्तिम समयसम्म ५२९ पुरुष र २७५ महिलाले दर्ता गराएका हुन्। दर्ताका लागि स्थानीय काउण्टरमा अन्तिम दिनसम्म पनि भीड देखिएको कार्यालयले जनाएको छ।

असोज ८ गतेसम्म जिल्लामा कूल १ लाख ५४ हजार २१६ मतदाता दर्ता भएका छन्, जसमा ७६ हजार ८३४ महिला, ७७ हजार ३८० पुरुष र २ जना अन्य समावेश छन्। जनसांख्यिक रूपमा पुरुष–महिला मतदाता संख्या सन्तुलित देखिन्छ। नयाँ दर्ता मध्ये करिब ८० प्रतिशत जेन–जी उमेर समूहका छन्, जसको सक्रियता स्मार्टफोन र अनलाइन सूचनाको पहुँचसँग जोडिएको कार्यालयको भनाइ छ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा १ लाख ५० हजार १५६ मतदाता थिए। एक सङ्घीय क्षेत्र, दुई प्रदेश सभा क्षेत्र, १० स्थानीय तह र ८४ वडा रहेको बैतडीमा पछिल्लो दर्ताले आगामी निर्वाचनमा मतदाता संख्या अझै बढ्ने संकेत देखिएको छ।

जिल्ला निर्वाचन कार्यालयले मतदान सामग्री, जनशक्ति र व्यवस्थापनका तयारी क्रमशः अघि बढाइरहेको र अब मतदान केन्द्र निर्धारण तथा प्रशिक्षणलगायतका बाँकी चरण कार्यान्वयनमा प्रवेश गर्ने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस