धनगढीमा हुने एकता सभालाई प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने
धनगढी: नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा मंसिर १२ गते आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका संयोजक पुस्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन्।
सभाको तयारीका लागि नेता डा. भीम रावलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ। सभा भव्य र प्रभावकारी बनाउन १३ वटा उपसमिति बनाइएर तयारीका काम तीव्र रूपमा अघि बढाइएका रावलले जानकारी दिए। उनका अनुसार देशभरि एकताको सन्देश र उत्साह फैलिने गरी सभा आयोजना गरिनेछ।
सभाको पूर्वतयारी अन्तर्गत नेपाली कम्युनिष्ट पार्टीले शनिबार धनगढीमा तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत एकतामा आएका घटकका प्रदेशस्तरीय पदाधिकारी, जनप्रतिनिधि तथा अग्रज नेताकर्मीसँग विस्तृत छलफल गरेको थियो।
रावलले प्रदेशस्तरीय एकता सभापछि जिल्लादेखि पालिका तहसम्म क्रमिक रूपमा एकतासभा सञ्चालन गरिने जानकारी पनि दिएका छन्।