जोशीपुर गाउँपालिकामा आफूखुसि योजना संशोधन गरी बजेट वितरण
जोशीपुर – गत वर्ष अनुदानको लाखौँ बजेट कार्यकर्ता र निकटका व्यक्तिलाई वितरण गरेको कैलालीको जोशीपुर गाउँपालिकाले आफूखुसी बजेट र योजना संशोधन गरेको पाईएको छ। गाउँपालिकाले वडा समितिबाट निर्णय गराएर अनुदान तर्फ मात्र नभई विकास निर्माणका योजनामा समेत गुपचुपमा संशोधन गरेको भेटिएको हो।
नगरसभाबाट पारित गरिएका योजनाहरु विशेष परिस्थिती बाहेक संशोधन गर्न नपाउने प्रावधान भएपनि जोशीपुर गाउँपालिकामा त्यसको उल्लङघन गरिएको छ भने शिर्षक फेर बदल गर्न नमिल्ने प्रावधानको पनि मिचिएको छ। गाउँपालिकाको वडा नम्बर २ को वडा समितिको ६५ औँ बैठकबाट माछा पालनको अनुदानको एक लाख बजेटको शिर्षक फेर बदल गर्दै तीन भागमा विभाजन गरी बाडिएको छ।
वडा समितिको बैठकले निर्णय गर्दै एक लाख मध्ये ५० हजार माछाका भुरा वितरण, ३० हजार डयमण्ड खेलकुद युवा क्लव र २० हजारले डेन्टल शिविर गर्ने भन्दै छुट्याएर खर्च गरेको छ। यस्तै वडा समितिको ६१ औँ बैठकबाट निर्णय गर्दै केरा खेतीका लागि छुट्याईएको बजेट सडक ग्रावेलमा हालिएको छ तर बजेट खुलाईएको छैन्।
जुन कुरा प्रचलित प्रावधान विपरीत भएपनि वडा अध्यक्ष हेमलाल डगौराले कर्मचारीले संशोधन गर्न मिल्ने भनेकाले संशोधन गरिएको दावी गरेका छन्। नगरसभाबाट पारित भएको बजेट र योजना विशेष परस्थिती बाहेक तोडमोड र संशोधन गर्न नपाउने प्रावधान भएपनि जोशीपुर गाउँपालिकाले भने त्यसको उल्लङ्घन गरेको हो।
विशेष अवस्थामा समेत एउटा शिर्षकको बजेट रकमान्तर गर्दै अर्को शिर्षकमा छुट्याउन नपाउने भएपनि जोशीपुर गाउँपालिकाले आफूखुसी शिर्षक फेरबदल गरी निकटका व्यक्तिलाई खुसी बनाउन बजेट बाडेको आरोप लागेको छ। गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयले पनि माछाको भुरा अनुदानका लागि छुट्याईएको एक लाख बजेट संशोधन गर्दै सडक मर्मतमा बजेट पार्दै बाडेको पाईएको छ।
वडा नम्बर २ र ६ को यी योजना प्रतिनिधिमुलक उदाहरण मात्र भएपनि गाउँपालिकाका अन्य वडामा समेत आफूखुसि बजेट संशोधन गरी वितरण गरिएको स्रोतको दावी छ। स्थानीय तहमा बजेट र योजना संशोधन गर्न परेमा विशेष नगरसभा समेत बोलाउनुपर्ने प्रावधान रहेको अधिकारीहरुले बताउँदै आएका छन् भने वडा समितिको निर्णयको आधारमा मात्र कार्यपालिकाले बजेट संशोधन गर्नु कानून विपरीत हुने उनीहरुको भनाई छ। तर जोशीपुर गाउँपालिकाले भने आवश्यकताका आधार बजेट संशोधन गर्न सकिने जिकिर गर्दै प्रचलीत प्रावधानलाई आफू अनुकुल व्याख्या गरिरहेको छ।
विगतमा स्थानीय निकायमा अधिकृत छैठौंमा नियुक्त भई गाउँपालिकाको निमित्त प्रमुखको जिम्मेवारी सम्हालीरहेका नारायण प्रसाद शर्माले जनताको माग अनुसार बजेट र योजना संशोधन गरिएको दावी गरे। उनले रकमान्तर गर्दा कार्यपालिकाबाट निर्णय गरी एक शिर्षकको बजेट अर्को शिर्षकमा रकमान्तर गर्न सकिने जिकिर समेत गरेका छन्।