कञ्चनपुरमा आगलागी र करेन्ट दुर्घटना, गोठ जलेर नष्ट र महिला घाइते
कञ्चनपुर: कञ्चनपुर जिल्लामा छुट्टाछुट्टै घटनामा आगलागीबाट ठूलो आर्थिक क्षति र करेन्ट लागेर एक महिला घाइते भएको छ।
पहिलो घटना कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटमा गएराति भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार २०७९।०७।३० गते साँझ ८ः०० बजे दिर्घ महराको दुईतले इँटाको कच्ची गाईगोठमा विद्युत् सर्ट भई आगलागी भएको थियो।
गोठभित्र राखिएको भुसा, पराल, नयाँ घर निर्माणका लागि संकलित काठ तथा अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीयको सहयोगमा आगो राति ११ः०० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट करिब ४ लाख रुपैयाँबराबरको क्षति भए पनि मानिस तथा चौपायामा भने कुनै क्षति भएको छैन।
यस्तै दोस्रो घटना २०७९।०८।०१ गते दिँसो २ः३० बजे दोधारा–चाँदनी नगरपालिका–३ जमुनाघाडीमा भएको हो। घर नजिकै रहेको डाली–घाँसको रुखबाट स्याउला काट्ने क्रममा २८ वर्षीया भागरथी रावत करेन्ट लागेको तारमा छोइएर रुखबाट खसेकी थिइन्। खस्दै गर्दा करेन्टको झट्काले उनको दाहिने खुट्टा भाँचिएको जिल्ला प्रहरीले जानकारी दिएको छ।
घाइते रावतलाई स्थानीय दोधारा–चाँदनी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। अवस्था सामान्य भएपछि थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको प्रहरीले जनाएको छ।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको बताएको छ।