सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्ध अपराध’मा मृत्युदण्ड

२०८२ मंसिर १, ०४:१९ रासस

बङ्गलादेश: बङ्गलादेशको विशेष अदालत, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ (आइसिटी–१) ले सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहका क्रममा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। सोमबार दिउँसो सुनाइएको फैसलामा हसिनासहित पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई पनि दोषी ठहर गरिएको छ।

ढाका ट्रिब्युन र अल जजिराका अनुसार, अदालतले पाँचवटै अभियोगमा हसिनाको आदेश, उक्साहट र नियन्त्रण असफलताले देशव्यापी हिंसा चर्किएको निष्कर्ष निकालेको छ। उनले ड्रोन, हेलिकप्टर र घातक हतियार प्रयोगका आदेश दिएर भीडमाथि दमन योजनाबद्ध रूपमा गराएको ठहर गरिएको छ।

७८ वर्षीया हसिना हाल भारतमा निर्वासनमा बस्दै आएकी छिन्। उन अनुपस्थितमै मुद्दा चलाइएको हो। सहअभियुक्त असदुज्जमान पनि भारतमै रहेको अनुमान गरिएको छ। पूर्व प्रहरी प्रमुख मामुन भने हिरासतमा छन् र राज्यका साक्षीका रूपमा प्रस्तुत भएका छन्।

तीन सदस्यीय बेन्च—मुख्य न्यायाधीश गुलाम मुर्तजा, न्यायाधीश मोहम्मद सोफिउल आलम महमुद र न्यायाधीश मोहम्मद मोहितुल हक इनाम चौधरी—को फैसलामा ढाकादेखि आशुलिया र चन्खरपुलसम्मका सामूहिक हत्या, गोलीकान्ड, शव जलाएर प्रमाण नष्ट गर्ने घटना तथा विद्यार्थी नेता अबु सैयदको हत्या समावेश छन्।

फैसलालाई लिएर देशभर सुरक्षा कडा पारिएका बेला केही पीडित परिवार अदालतमै उपस्थित थिए। त्यसै दिनदेखि हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्दको घोषणा गरेको छ, र केही क्षेत्रमा विस्फोट र वाहन जलाइएका घटना रिपोर्ट भएका छन्।

प्रतिरक्षा वकिलले सबै आरोप बनावटी रहेको दाबी गर्दै हसिनाले कुनै पनि हत्या वा आक्रमणको आदेश नदिएको प्रतिक्रिया दिएका छन्। हसिना भारतमा बस्दै सबै आरोप अस्वीकार गर्दै आएकी छन्।
 

कमेन्ट लोड गर्नुस