भ्रमण बर्षका लागि गठित सुदूरपश्चिम पर्यटन समितिको बैठक समेत बस्न सकेन
नेपाल भ्रमण बर्षका लागि सुदूरपश्चिम समन्वय समिति गठन गरेको दुई महिना पुग्नै लाग्दा पनि समितिको पहिलो बैठक समेत बस्न सकेको छैन्। सरकारले गठन गरेको समन्वय समिति न्यायोचित नभएको आरोप लागिरहेका बेला समितिको दुई महिना सम्म पहिलो बैठक समेत बस्न नसकेको हो। गत जेठ अन्तिम साता प्रदेश सरकारको सिफासिरको आधारमा संघीय सरकारको सस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले भ्रमण बर्षका लागि सुदूरपश्चिम समन्वय समिति गठन गरेको थियो। नेपाल भ्रमण बर्ष २०२० का लागि गठिन सुदूरपश्चिम प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका प्रादेशिक कार्यक्रम संयोजक परमानन्द भण्डारीले अहिले सम्म बैठक बस्न नसकेको बताउँदै सो विषयमा छलफल भने भईरहेको बताए। उक्त समिति गठनको बारेमा आधिकारीक पत्र समेत नपाएको प्रदेश पर्यटन मन्त्रालयको दावी छ।
सुदूरपश्चिम प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिकी अध्यक्ष समेत रहेकी उद्योग पर्यटन वन तथा बातावरण मन्त्री माया भट्टले अहिले सम्म संघीय सरकारले पत्र समेत नपठाएको बताईन्। ‘पर्यटन समिति विभेदपूर्ण तवरले गठन गरेको आरोप पनि लाग्दै आएको छ,’ उनले भनिन्, ‘आधिकारीक पत्र आएपछि सो विषयमा पनि छलफल गर्नेछौ।’ प्रदेश स्तरीय समिति ७ वटै प्रदेशमा एकै पटक गठन गरिएको थियो। समिति गठन गरेपछि छिमेकी कर्णाली प्रदेशले विभिन्न छलफल अन्तरक्रिया गर्दै भ्रमण बर्षका लागि योजना समेत बनाईसकेको छ। कर्णाली प्रदेशले भ्रमण बर्षका लागि ४० वटा मुख्य गन्तव्य समेत छनौट गरिसकेको छ भने भ्रमण बर्षमा बढि भन्दा बढि पर्यटक भित्र्याउनका लागि विभिन्न योजना पनि सार्वजनिक गरिएको छ। तर सुदूरपश्चिम प्रदेशमा भने भ्रमण बर्षका लागि अहिले सम्म कुनै तयारी समेत हुन सकेको छैन्।
समितिमा रहेका १४ जना सदस्य मध्ये १० जना कैलाली, तीन जना कञ्चनपुर र एक जना डडेल्धुराका रहेका छन्। तर पहाडी ६ जिल्लाको प्रतिनिधित्व समेत नगराएको भन्दै सरकारले पर्यटन बर्षका लागि समिति गठन गर्दा विभेद गरेको आरोप लाग्दै आएको छ। भ्रमण बर्षका लागि गठन गरिएको सुदूरपश्चिमको समितिमा संरक्षक मुख्यमन्त्री, अध्यक्ष प्रदेशका पर्यटन मन्त्री, सह –अध्यक्ष प्रदेशका प्रमुख सचिव, सदस्य सचिव प्रदेशको पर्यटन मन्त्रालयका सचिवलाई राखिएको छ। कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारीलाई प्रादेशिक कार्यक्रम संयोजक, उद्योग बाणिज्य संघ कैलाली, कञ्चनपुर र डडेल्धुराका अध्यक्षलाई सदस्य, कैलालीका कलम बम, गोपाल हमाल, सन्जय चौधरी, मायाप्रकाश भट्ट, सुवाश शाही, धर्मराज पाठक, चन्द्र विष्ट, मानवहादुर शाही र किशोर खड्का तथा कञ्चनपुरबाट कल्पना गैर पनि सदस्य रहेका छन्।