सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटेली राजाको प्राचीन दरबार 'अजयमेरुकोट' पुनर्निर्माण

पुनर्निर्माण गरिएको अजयमेरुकोटको मुख्य दरबार । तस्बिर : पुष्कर भण्डारी (गोरखा पत्र)
पुनर्निर्माण गरिएको अजयमेरुकोटको मुख्य दरबार । तस्बिर : पुष्कर भण्डारी (गोरखा पत्र)
२०८२ कार्तिक ३०, १०:२४ खबर संवाददाता

डडेल्धुराः १३औँ शताब्दीको इतिहास बोकेको डोटेली राजाको प्राचीन दरबार अजयमेरुकोटको पुनर्निर्माणको काम सकिएको छ । अजयमेरु गाउँपालिकाको ७८ लाख रुपियाँ लागतमा वडा नम्बर २ स्थित हाटकोटमा रहेको दरबारको पुनर्निर्माण सकिएको हो ।  

गत आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले ९० लाख रुपियाँ विनियोजन गरेपछि गत फागुनमा पुरातत्व विभागले खण्डका रूपमा रहेको अजयमेरुकोट दरबारको उत्खनन गरेको थियो । उत्खननमा देखिएको दरबारको शैली अनुसार पुनर्निर्माणको काम सकिएको गाउँपालिकाका प्राविधिक रतन ऐरले जानकारी दिए। 

उनका अनुसार दरबारको जगसम्मै उत्खनन गरी पुनर्निर्माण गरिएको छ । पुरातत्वका संरचनाको पुनर्निर्माण गर्दै आइरहनुभएका कालिगड भक्तपुरबाट मगाइएको थियो । दरबारको संरचना जस्ताको त्यस्तै र तीन मिटर उचाइ भएका पर्खाल निर्माण गरिएका छन् । छानोबिनाको भग्नावशेष अवस्थामा रहेको दरबार उत्खनन गर्दा भेटिएका संरचना अनुसार हाललाई मुख्य दरबार पुनर्निर्माण गरिएको उनले बताए।  

ढुङ्गाको धुलो (स्टोन डट्स) मा चुना मिसाई गारो बनाई ठुलठुला ढुङ्गाले दरबार निर्माण गरिएको उनले बताए। उत्खननमा भेटिएका ढुङ्गासँगै टुटफुट भएका ढुङ्गाका ठाउँमा पुरानै शैलीमा नयाँ ढुङ्गा प्रयोग गरिएको उनले जानकारी दिए। 

उत्खनन र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुन सक्ने देखिएको थियो । बिचमा गल्ली एकातिर तीन र अर्कोतिर चार कोठा गरेर भुइँ तलामा सात र माथि जाने ढुङ्गाको सिँढी पनि भेटिएकाले दुईतले भवनमा करिब १४ कोठाको मुख्य दरबार रहेको हुन सक्ने खुलेको थियो । मुख्य दरबार क्षेत्रमा दरबारसँगै एकतले भवन, मण्डली, सुरक्षा टावरलगायतका गरेर १० वटा ढुङ्गे संरचना भेटिएका थिए ।  

बजेट अनुसार हाललाई दरबारको भुइँ तला निर्माण पूरा भएको छ । उत्खननका बेला भुइँ तला मात्रै भेटिएको थियो तर एउटा कोठाबाट माथि चढ्ने सिँढी भेटिएको थियो । यसले दरबारमा अर्को तला पनि थियो भन्ने खुल्ने पुरातत्वविद्को भनाइ थियो । दुई वा त्योभन्दा बढी कति तलाको दरबार थियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । 

दरबार क्षेत्रमा छतमा प्रयोग भएका पातला ढुङ्गाका सिलेट भेटिएका थिए । काठ नभेटिएकाले छानो ढुङ्गाको मात्रै थियो वा काठ पनि प्रगोग भएको थियो भन्ने खुल्न सकेको छैन । डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कला शैलीमा निर्माण गरिएको उत्खननका समयमा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भास्कर ज्ञवालीले बताएका छन् ।  

उनकका अनुसार अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माण शैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरूभन्दा फरक रहेको छ । यहाँ बिचमा मण्डप बनाएर दायाँबायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउला विशिष्ट किसिमका छन । यो नेपालकै उत्कृष्ट कलाकृतिका रूपमा रहेको उनले बताए। अजयमेरुकोटमा निरय पाल र नागी मल्लको अभिलेख पाइएका छन । पहिले नपढिएका केही अभिलेख अहिले उतार गरिएको छ । त्यसबारे विषयविज्ञ बोलाएर छलफल गरिने बताइएको छ ।   
 

कमेन्ट लोड गर्नुस