अवैध म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ
काठमाडौँ: काठमाडौँको सोह्रखुट्टेमा अवैध रूपमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्। व्यवसायसम्बन्धी भिसा लिएर नेपाल आएका ती व्यक्तिहरूले म्यारिज ब्यूरो सञ्चालन गरेको विशेष सूचनाका आधारमा अध्यागमन विभागको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार शुक्रबार साँझ पक्राउ परेका उनीहरू हाल हिरासतमा छन् र अनुसन्धान जारी छ। प्राप्त सूचनाअनुसार उनीहरूले गरिब तथा विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग विवाह गराउने काम गर्दै आएका थिए। केही युवतीलाई विवाहका लागि चीनसमेत पठाइसकेको तथ्य पनि खुलेको विभागले जनाएको छ।
पक्राउ परेकामध्ये एक महिला र तीन पुरुष रहेका छन्। तीमध्ये केही व्यक्तिहरू लामो समयदेखि फरक–फरक भिसामा नेपाल आउजाउ गर्दै आएको पनि अनुसन्धानबाट प्रारम्भिक रूपमा पुष्टि भएको छ।