निर्वाचनका लागि वातावरण तयार छ: सञ्चारमन्त्री खरेल
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित आम निर्वाचनको वातावरण पूर्ण रूपमा बनेको दाबी गरेका छन्। दक्षिण कोरिया भ्रमणकै क्रममा नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे।
मन्त्री खरेलले नेपाल प्रहरीमा नयाँ नेतृत्व आएपछि सुरक्षाको वातावरण सुदृढ भएको र कुनै पनि राजनीतिक दलले निर्वाचनमा सहभागी नहुने घोषणा नगरेकाले चुनावी माहोल सकारात्मक रहेको बताए। सरकार र राजनीतिक दल दुवैले मिलेर वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
उनका अनुसार जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता—निर्वाचन, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण, रोजगार सिर्जना र नवप्रवद्र्धन—रहेको छ।
मन्त्री खरेलले एआई तथा डिजिटल रूपान्तरणलाई नेपालको भविष्य ठहर गर्दै कोरियाजस्तो प्रविधि–सम्पन्न मुलुकसँग सहकार्य अझ विस्तार हुने अपेक्षा व्यक्त गरे। नेपालले हालै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा उनले प्रविधिमा कोरियाको अनुभव उपयोगी हुने बताए।
विदेशमा रहेका नेपालीको देश विकासका आकांक्षा र उत्साह उल्लेख गर्दै उनले सरकार कुनै पनि गलत काम नगर्ने प्रतिवद्धता जनाए। पाँच महिनाको अवधिमा केही आधारहरू मजबुत बनाउने विश्वाससहित उनले संविधानको जगमा बनेको सरकारले सबै राजनीतिक दलको मान्यता प्राप्त गरेको र जेनजी आन्दोलनको भावनाअनुरूप निर्वाचन प्रणाली तथा शासकीय स्वरूपबारे सर्वपक्षीय छलफल गर्ने बताए।
उनका अनुसार विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था गर्न कानुनी प्रक्रिया अघि बढाइएको छ र आवश्यक परे अध्यादेशमार्फत पनि यस्ता प्रावधान लागू गरिनेछ।
नेपाल वायुसेवा निगमको दक्षिण कोरिया–नेपाल सिधा उडानका लागि पहल गरिने पनि उनले बताए। कार्यक्रममा पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्का, नेपाली दूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारी तथा एनआरएनए आइसिसीकी महिला उपाध्यक्ष जुनु गुरुङले प्रवासी नेपालीका समस्या, सहजीकरण र द्विपक्षीय सम्बन्ध मजबुत पार्न आवश्यक कदमबारे सुझाव दिए।
अर्थतन्त्र, ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्ने वातावरण बनाउने, सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी उपाय अपनाउने तथा जेनजीका माग पूरा गर्न पहल गर्न सहभागीहरूले मन्त्री समक्ष आग्रह गरे। दक्षिण कोरियामा रोजगारी, व्यापार, अध्ययन आदि कारणले झण्डै एक लाख नेपाली बसोबास गर्दै आएका छन्।
मन्त्री खरेल ११औँ ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा सहभागी हुन छ–दिने भ्रमणका लागि कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए। यो फोरम कोरियाको विज्ञान तथा आईसीटी मन्त्रालय र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सीको संयुक्त आयोजनामा सिओलमा सम्पन्न भएको हो। भ्रमण सकेर मन्त्री खरेल आज साँझ स्वदेश फर्कने कार्यक्रम छ।