धनगढीमा निकालियो साइकल र्याली, बालबालिकाहरूको समेत सहभागिता
धनगढीः सफा, हरियो, उज्यालो र सुरक्षीत धनगढीका लागि शनिवार धनगढीका साइकल र्याली निकालिएको छ। धनगढीको पृथ्वीनारायण चोकबाट निकालिएको साइकल र्याली गुरहीचोक हुँदै जेन्जी मार्गमा पुगेर समापन भएको हो।
धनगढी उपमहानरपालिका तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी अन्तर्गतको ग्रीन ट्रान्जिसन पोर्टिफोलियोदुवारा साइकल र्याली आयोजना गरिएको हो। साइकल र्यालीमा करिब तीन सय साइकल यात्रीको सहभागिता रहेको थियो।
साइकल र्यालीमा पूर्व प्रदेश मन्त्री एवं प्रदेश सभा सदस्य रमेशसिंह धामी, धनगढी उपमहानरपालिकाका प्रमुख गोपाल हमाल, विश्विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी बालबालिका, र सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो।
'हाम्रो धनगढी, हामी बनाउँछौँ' भन्ने उद्घोष तथा धनगढीलाई सफा, हरियो, उज्यालो र सुरक्षीत बनाउनका लागि साइकल र्यालीको आयोजना गरिएको उपमहानरपालिकाले जनाएको छ।
साइकल र्यालीमा सहभागी हुन बालबालिका, जेष्ठ नागरिक र महिलासमेत आएका थिए। धनगढी-७ देवहरियाबाट साइकल र्यालीमा सहभागी हुन आएका साढे सात वर्षीय हार्दिक अवस्थी र १० वर्षीय कुशल भट्टराईले राम्रो स्वास्थ्य र सफा वातावरणका लागि साइकल चलाउनुपर्ने बताए। उनीहरुले उपमहानरपालिकाको साइकल र्यालीमा भाग लिन पाएकोमा खुशी व्यक्त गरेका छन्।
धनगढी-२ बाट साइकल र्यालीमा भाग लिन आएको बताउने बालिका शिर्षा महतोले नियमित साइकल चलाउनाले शरीर र पर्यावरणलाई फाइदा पुग्ने बताइन्। उनले दुई वर्षदेखि साइकल चलाउन थालेको बताएकी छन्। साइकल र्यालीमा भाग लिन पाउँदा खुशी लागेको उनको प्रतिक्रिया थियो।
धनगढी-२ बाटै साथमा छोरासमेत लिइएर आएका रामप्रसाद शुक्लाले स्वास्थ्य र वातावरणका लागि साइकल चलाउनु राम्रो भएको बताए। उनले छोरालाई समेत साइकल प्रतिको रुचि बढाउन सँगै लिएर आएको बताए।
धनगढीका महिलाहरुले निर्माण गरेको 'साइकले समूह' की सदस्य कोपिला कुँवरले महिलाहरूका लागि नियमित साइकल चलाउनु फाइदाजनक भएको बताइन्। उनले महिलाहरूले नियमित साइकल चलाउनुपर्ने बताउँदै धनगढीमा साइकल संस्कृतिको विकास हुनुपर्ने बताइन्। 'म धनगढीको 'साइकले समूह' की सदस्य हुँ। हाम्रो समूहका सदस्यहरू नियमित साइकल चलाउने गर्छौँ। महिलाहरूले व्यायामका लागि साइकल अनिवार्य चलाउनु पर्छ। अब साइकल संस्कृतिको विकास गर्नुपर्छ,' उनले भनिन्।
धनगढी-२ का श्यामराज जोशी साइकल यात्री हुन्। उनी पनि शनिवार आयोजित साइकल र्यालीमा सहभागी थिए। उनले विभिन्न अवसरका साइकल र्याली हुनुपर्ने बताए। धनगढीकै टोपप्रसाद आचर्यले जनचेतना जगाउन र स्वास्थ्यका लागि साइकल र्याली आयोजना भएकोमा खुशी व्यक्त गरेका छन्। आचार्यले साइकल संस्कृतिको विकास हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सागरप्रसाद ढुङ्गेलले स्वास्थ्यका लागि साइकल चलाउनु लाभदायक रहेको बताए। उनले साइकल संस्कृतिको विकास गर्न, साइकल चढ्नुलाई गर्भको विषय बनाउनुपर्ने बताए।
कैलाली बहुमुखी क्याम्पसकै अर्का प्राध्यापक सिताराम भट्टले आफूले नियमित साइकल चलाउने गरेको बताए। उनले नगर प्रमुख गोपाल हमालले साइकल र्याली आयोजना गरेकोमा धन्यवाद दिएका छन्। 'वातावारण राम्रो बनाउन, अर्थतन्त्र र स्वास्थ्यका लागि पनि साइकल चढ्नु राम्रो हो।साइकल संस्कृतिले वर्ग विभेद हट्छ,' उनले भने, 'वर्गीय असमानता हटाएर वर्गीय समानता कायम गर्दै राम्रो स्वास्थ्य र सफा वातावारणका लागि साइकल चढ्नु पर्छ।' प्राध्यापक भट्टले साइकल प्रयोग गर्दा पार्किङको समस्या नहुने र वातावरण संरक्षणमा योगदानसँगै आर्थिक हिसाबले पनि साइकल चढ्नु हितकारी भएको बताए।
धनगढी चौरहा अर्थात् पृथ्वीनारायण चोकदेखि सुरू भएको साइकल र्याली, जेन्जी मार्गमा पुगेर समाप्त भएको थियो। कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रमेशसिंह धामीले आफूले नियमित साइकल चढ्ने गरेको बताए। उनले स्वास्थ्य र वातावरणका लागि साइकल यात्रालाई प्राथमिकता राख्नुपर्ने बताए।