सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित एकै दिन ६ जना पक्राउ

२०८२ कार्तिक २९, ०७:३८ खबर संवाददाता

धनगढीः कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित एकै दिन ६ जना पक्राउ परेका छन्।

जिल्लाको भजनी नगरपालिका–३ कुसमघाटमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ३५११ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक लम्किचुहा नगरपालिका–१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २२ वर्षीय आकाश चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्।

यिनीहरुको साथबाट ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। यस्तै लम्कीचुहा नगरपालिका–६ बागमारबाट पिपरकोटि बस्ने २९ वर्षीय कमल जैसि र २६ वर्षीय लक्ष्मण बोहरालाई १५० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी गएराति १० बजे बिशेष सूचनाको आधारमा गोदावरी नगरपालिका–५ गेटा स्थित से ६ प ७५९४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक गोदावरी नगरपालिका–५ गेटा बस्ने २० वर्षीय बिजय बिष्ट र मोटरसाइकल पछाडी सवार गोदावरी नगरपालिका–१ बिजौरा बस्ने २५ वर्षीय राज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

यी दुबै जनालाई पनि ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन, मोटरसाइकलसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी गेटा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। शुक्रवार पक्राउ परेका यी ६ जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस