धनगढी-८ को मुस्कान टोलमा करिब एक किलोमिटर सडक व्यक्तिको कब्जामा
धनगढीः धनगढी उपमहानरपालिका वडा नम्बर ८ मा करिब एक किलोमिटर सडक मिचिएको छ। धनगढी-८ को पाउरोटी फ्याक्ट्रीदेखि नरुवा नालासम्मको सडक अतिक्रमणमा परेको हो। धनगढी गाउँको मुस्कान टोलदेखि घुइयाँघाट जाने पूरानो सडकमा स्थानीयले खेत तथा घर निर्माण गरेका छन्।
धनगढी गाउँको मुस्कान टोलदेखि नरुवा नालासम्मको सडक बाङ्गोटिङ्गो भएकाले २०३६ सालमा स्थानीयहरूसँग सहमति गरेर धनगढी नगर पञ्चायतले सडक सिधा नक्साङ्कन गरेको थियो। नयाँ सडकमा ज-जसको जग्गा परेको छ उनीहरूलाई पुरानो सडक उपभोग गर्ने मौखिक सहमति भएको थियो। तत्कालीन धनगढी नगर पञ्चालयत प्रमुख छेदालाल चौधरी र वडा अध्यक्ष दिनानाथ भट्टले पुरानो सडक भोगचलन गर्न पाउने भन्दै नयाँ सडक खोलेको भलमन्सासमेत रहेका भज्जी रानाले बताए।
भज्जी रानालगायत स्थानीय नारद राना, सूर्यप्रसाद चौधरी, ताराप्रसाद चौधरी, रामदिन राना, देवसिंह राना, पुरन राना, बालकिसन राना, भल्लुदेवी राना, रामसमझ राना, रोना राना, रामदासी थरुनी, प्रेम चौधरी, धनीराम राना, लालसिंह राना, राजाराम राना, प्रसाद राना, फिरङ्गी राना र मानसिंह रानाले पुरानो सडक भोगचलन गरिरहेका छन्। उनीहरूले नयाँ सडकमा आफूहरूको जग्गा गएकाले पुरानो सडक भोगचलन गरेको बताएका छन्।
२०३६ सालमा सडक सिधा बनाउँदा आफूहरूलाई सर्भे नापी हुने बेला पुरानो सडक नाममा हाल्ने मौखिक सम्झौता भएको भज्जी रानाको दाबी छ। तर सरकारी बाटो कुनै पनि व्यक्तिको नाममा दर्ता गर्न कानूनले भने छुट नदिएको नापी कार्यालय धनगढीका प्रमुख जनकराज भट्टले बताए।
नापी कार्यालयले जारी गरेको नक्सामा पूरानो सडकलाई साबिकको सडक भनेर देखाइएको छ। नक्सामा सडक कायम भए पनि फिल्डमा भने केही भाग बाहेक पूरै सडक अतिक्रमित छ। सडकमा खनेर खेत बनाइएको छ भने केही व्यक्तिले बाटोमै घरसमेत निर्माण गरेका छन्।
साबिकको सडक मिचिएको भन्दै केही स्थानीयले बिरोध जनाएका छन्। साबिक बाटो बन्द गरिँदा उनीहरूले आफ्नो जग्गा उपभोग गर्न र घर निर्माण गर्न समस्या भएको बताएका छन्। स्थानीय रामसिंह राना, हरिलाल राना, मुनारदेवी राना, सभापति राना र राजा रानाले साबिक सडक अतिक्रमित हुँदा आफूहरूलाई जग्गा भोगचलन गर्न र सो जग्गामा घर निर्माण गर्न समस्या भएको बताएका छन्।