सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुरमा वैकल्पिक ऊर्जाको प्रवद्र्धन कार्यक्रम सुरु

२०८२ कार्तिक २७, ०२:३३ रासस

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हरित जलवायु कोषको सहयोगमा स्वच्छ ऊर्जा प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा आएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (AEPC), नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा सञ्चालित यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा विद्युतीय चुल्हो, सुधारिएको चुल्हो र घरायसी बायोग्यास प्लान्ट जडान गर्ने लक्ष्य लिइएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार, यस कार्यक्रमको उद्देश्य स्थानीय तहमा स्वच्छ ऊर्जा प्रविधिको पहुँच विस्तार गर्दै दिगो विकास, वातावरणीय प्रदूषण नियन्त्रण र वन विनाश न्यूनीकरणमा योगदान पु¥याउनु हो।

“स्वच्छ ऊर्जा प्रयोग बढे वातावरण र स्वास्थ्यमा सुधार आउँछ, दाउरा र पेट्रोलियम पदार्थको निर्भरता घट्छ,” उनले बताए, “यही कारणले कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ।”

कार्यक्रमअन्तर्गत प्रत्येक प्रविधिमा लागत साझेदारीको स्पष्ट संरचना तय गरिएको छ। विद्युतीय चुल्होमा हरित जलवायु कोषले कुल लागतको १० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४८ प्रतिशत, नगरपालिकाले १९ प्रतिशत र उपभोक्ताले बाँकी २३ प्रतिशत व्यहोर्ने व्यवस्था गरिएको छ।

सुधारिएको चुल्होका लागि हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४०–४० प्रतिशत, नगरपालिकाले १५ प्रतिशत र उपभोक्ताले पाँच प्रतिशत लागत साझेदारी गर्नेछन्।
त्यसैगरी घरायसी बायोग्यास प्लान्ट निर्माणमा हरित जलवायु कोषले २८ प्रतिशत, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४८ प्रतिशत, नगरपालिकाले १० प्रतिशत र उपभोक्ताले १४ प्रतिशत खर्च व्यहोर्ने व्यवस्था गरिएको छ।

नगरपालिकाले स्थानीय बासिन्दालाई वडा कार्यालयमार्फत आवेदन दिन आह्वान गरेको छ। आवेदनका लागि नागरिकताको प्रतिलिपि, माग सङ्कलन फाराम र लक्षित वर्ग (अपाङ्गता, एकल महिला, मुक्त कमैया, कमलहरी आदि)को प्रमाणपत्र आवश्यक हुनेछ। माग र आवश्यकताका आधारमा स्वच्छ ऊर्जाका साधन अनुदानमा उपलब्ध गराइनेछ।

नगर प्रमुख हेमराज ओझाले वैकल्पिक ऊर्जाको प्रयोगले वन संरक्षण, वायु प्रदूषण घटाउने र जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पु¥याउने भएकाले यसलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार, सुधारिएको चुल्हो र बायोग्यासले दाउरा खपत घटाउने, धुवाँ–धुलो कम गर्ने र महिलाको स्वास्थ्यमा सुधार ल्याउनेछ।

विद्युतीय चुल्हो प्रयोगले एलपिजी ग्यासको आयात घटाउन र घरेलु विद्युतीय ऊर्जाको प्रयोग बढाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ, जसले राष्ट्रिय ऊर्जा आत्मनिर्भरता नीतिलाई टेवा पुर्‍याउनेछ।

नगरपालिकाले यो कार्यक्रमलाई वातावरणमैत्री र सामाजिक रूपान्तरणको मोडेलका रूपमा अघि बढाउने तयारी गरेको छ। “कार्यक्रममार्फत दिगो ऊर्जा, हरित वातावरण र स्वच्छ जीवनशैलीतर्फ अघि बढ्दैछौँ,” नगर प्रमुख ओझाले भने, “यो अभियानले वातावरण संरक्षणसँगै स्थानीयको आर्थिक बोझ घटाउनेछ।”


 

कमेन्ट लोड गर्नुस