सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा धान उत्पादन बढ्यो, ७५८ मेट्रिक टनले वृद्धि

२०८२ कार्तिक २६, ०३:५६ खबर संवाददाता

बाजुरा: बाजुरामा यस आर्थिक वर्षमा धान उत्पादनमा वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष ७५८ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

गत वर्ष यहाँ १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो भने यो आर्थिक वर्ष १८ हजार २५८ मेट्रिक टन उत्पादन भएको छ। आर्थिक वर्ष २०८०–०८१ मा यहाँ १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो। विगत दुई वर्षसँग तुलना गर्दा यस वर्ष धान उत्पादनमा वृद्धि आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए।

साहनीका अनुसार, “पहिला यहाँका किसानले पुरानो जातको धान लगाउने गर्थे, जसमा खेती बढी भए पनि उत्पादन कम हुन्थ्यो। अहिले किसानलाई रामधान, जुम्ली, सावित्री, हिमाली धान, खुमल जस्ता उत्पादन बढी हुने उन्नत जातको धान प्रवद्र्धन गरेपछि धान उत्पादन बढ्न थालेको हो।”

बाजुराका हिमाली, जगनाथ, स्वामिकार्तिक खापर, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकामा धान खेती हुने गर्छ। यहाँका किसानले चैत–वैशाखमा पाखो र जेठ–असारमा धान रोपाइँ गर्ने गरेका छन्।

बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्रै खेतीयोग्य छ। यसमध्ये ६ हजार ९१५ हेक्टर जमिनमा मात्र धान खेती हुन्छ र १३ हजार १४० हेक्टर जमिनमा उत्पादन हुने गरेको छ। यहाँ १.९ मेट्रिक टन–हेक्टर धान उत्पादकत्व हुने गरेको साहनीले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस