सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका युवकको मुगुमा ट्याक्टर दुर्घटनामा मृत्यु

२०८२ कार्तिक २५, ०१:०८ खबर संवाददाता

बाजुरा: बाजुराका एक युवक मुगुमा भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका छन् भने अर्को व्यक्ति गम्भीर घाइते भएका छन्।

बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनका लागि पोल ढुवानी गर्दै गएको लु ५ त १२३७ नम्बरको ट्याक्टर मुगु सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

दुर्घटनामा बाजुरा गौमुल गाउँपालिका–३ का करिब २४ वर्षका सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलवीर लावडले जानकारी दिए।

उनका अनुसार विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खसेको थियो। सोही क्रममा चालक रोकायाको मृत्यु भएको र हुम्ला अदानचुली–२ का २८ वर्षका रेशम भण्डारी गम्भीर घाइते भएका छन्।

घाइते भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको छ। दुर्घटनाग्रस्त ट्याक्टरमा चालक रोकाया र भण्डारी मात्र सवार रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस