शुक्लाफाँटा नगरपालिकामा सामुदायिक विद्यालय सुधारका लागि कार्यसम्पादन सम्झौता
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा विस्तार गर्ने उद्देश्यले आज नगरपालिकाको शिक्षा शाखा र विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता गरेको छ।
नगरपालिकाले विद्यालयमा देखिएका कमजोरीलाई सम्बोधन गर्दै दीर्घकालीन शैक्षिक सुधारको आधार तयार गर्न यो सम्झौता अघि बढाएको हो। शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टका अनुसार सम्झौताले विद्यालयमा रहेका मानव संसाधन, भौतिक संरचना र वित्तीय स्रोतको अधिकतम उपयोग सुनिश्चित गर्नेछ। उनले भने, “यसले शिक्षकको पेशागत विकासमा टेवा पुग्छ र विद्यार्थीको सिकाइ उपलब्धिमा ठोस सुधार ल्याउँछ।”
सम्झौताअनुसार विद्यालयले वार्षिक कार्यपात्रो निर्माण गरी लागू गर्नुपर्नेछ र प्रत्येक शिक्षकले आफ्नो विषयअनुसार वार्षिक, एकाइ र दैनिक पाठयोजना बनाएर कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिएको छ। शैक्षिक अनुशासन, पारदर्शिता र सुशासन उच्च प्राथमिकतामा राखिनेछ। विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, विद्यार्थी समिति र विषयगत समिति सक्रिय रूपमा परिचालन गरिने छ। विद्यार्थी मूल्याङ्कनलाई केवल अङ्कमा सीमित नगरी सिकाइ सुधारका अवसरका रूपमा प्रयोग गरिने व्यवस्था पनि गरिएको छ। प्रधानाध्यापकहरूले विद्यालयमा गुनासो सुन्ने अधिकारी तोक्ने, शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्ने, करार शिक्षाको म्याद थप्ने र उच्च शैक्षिक उपलब्धि हासिल गर्ने प्रयासमा रहनुपर्ने छ।
भौतिक व्यवस्थापनतर्फ, विद्यार्थी सङ्ख्याअनुसार पर्याप्त कक्षाकोठा, फर्निचर, पुस्तकालय, विज्ञान र सूचना प्रविधि प्रयोगशाला, बैठक तथा स्टाफ कक्ष, सरसफाइ, खानेपानी, शौचालय, अपाङ्गमैत्री तथा बालमैत्री संरचना विकासमा प्राथमिकता दिइने छ। वित्तीय पक्षमा विद्यालयले वार्षिक बजेट तयार गरी व्यवस्थापन समितिबाट स्वीकृत गर्नुपर्नेछ र सबै कारोबार बैंक प्रणालीमार्फत गरिने छ।
मानव संसाधन व्यवस्थापनतर्फ कक्षागत शिक्षक–विद्यार्थी अनुपात मिलाउने, विषयगत समिति गठन गर्ने, सिकाइ उपलब्धिको अभिलेख तयार गर्ने र सुधार योजना कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ। विद्यालयले शैक्षिक व्यवस्थापन सूचना प्रणाली (भ्ःक्ष्क्) अपडेट गर्ने, बालसञ्जाल गठन गर्ने, विद्यालयको वेबसाइट र फेसबुक पेज तयार गर्ने, बुक कर्नर व्यवस्थीत गर्ने र विद्यार्थी तथा शिक्षकलाई विद्यालय पोशाकमा उपस्थित हुने व्यवस्था सुनिश्चित गर्ने सम्झौता गरेको छ।
सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। हरेक महिनाको प्रगति मूल्याङ्कन गरी उत्कृष्ट विद्यालयलाई घोषणा र प्रोत्साहन गर्ने व्यवस्था पनि राखिएको छ।
शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले सम्झौताले विद्यालयमा उत्तरदायित्व र पारदर्शिता बढाउने बताए। कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक पिताम्बर जोशीले यसले विद्यालय शिक्षामा गुणस्तर सुधार्ने विश्वास व्यक्त गरे भने बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज अवस्थीले यसलाई विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फको पहिलो औपचारिक अभ्यासका रूपमा लिएको बताए। नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले सम्झौताले विद्यार्थीको सिकाइ परिणाम मात्र नभई समुदायको विद्यालयमा विश्वास पनि बढाउने बताए।
हाल शुक्लाफाँटा नगरपालिकामा २८ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्, जहाँ १५,५३० विद्यार्थी अध्ययनरत छन् र नगरपालिकाको साक्षरता दर ९५ प्रतिशत रहेको छ।