बिष्ट कल्याणकारी समाजको रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत सङ्कलन
धनगढी : बिष्ट कल्याणकारी समाज कैलालीले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
शनिवार बिहान ९ बजेदेखि धनगढीको यात्री होटलको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रम दिउँसो सम्पन्न भएको हो। रक्तदान कार्यक्रमबाट ५६ पिन्ट रगत सङ्कलन भएको छ।
बिष्ट कल्याणकारी समाजका अध्यक्ष मदन सिंह बिष्टले रक्तदानमा सहभागी भएर ५६ जनाले रक्तदान गरेको जानकारी दिए।
उनकाअनुसार रक्तदान गर्न पुगेका २० जनाले भने स्वास्थ समस्याका कारण रगत दिन नपाएपछि फिर्ता भएका थिए।
समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलोपटक शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको हो।
समाजले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्वका कामहरू गर्ने जनाएको छ।
प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्टले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष मदन सिंह बिष्टले गरेका थिए।
रक्तदान कार्यक्रममा सुदूरपश्चिमका सर्वाधिक रक्तदाता तथा रक्तदान सदभावना दुत दीपक उपाध्यायको समेत उपस्थिति रहेको थियो।
बिष्ट कल्याणकारी समाजका अध्यक्ष बिष्टले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सफल पार्न विभिन्न ढंगले सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ।