सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आयल निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

२०८२ कार्तिक २२, ०२:२२ रासस

काठमाडौँ: दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगिता सम्पन्न भएको छ।

सो प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम भएका छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषतर्फको १० किलोमिटर दौडमा भण्डारीले ५३ मिनेट १० सेकेण्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे।
त्यस्तै दिगम्बर पन्त दोस्रो र मनोजकुमार दास तेस्रो हुनुभयो। पन्तले ५४ मिनेट ४६ सेकेण्ड र दासले ५६ मिनेटमा दूरी पार गरे।

महिलातर्फको ५ किलोमिटर दौडमा सुमना सापकोटाले ३२ मिनेट ९ सेकेण्डमा दूरी पूरा गर्दै विजेता बने।
शर्मिला कटुवाल दोस्रो र राजकुमारी राई तेस्रो स्थानमा रहे। कटुवालले ३३ मिनेट ३९ सेकेण्ड र राईले ३५ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरे।

विजेताहरुलाई निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धरले मेडल प्रदान गरे।
भण्डारी र सापकोटालाई ५० ग्रामको चाँदीको सिक्का पुरस्कार दिइयो।

कार्यक्रममा कार्यकारी निर्देशक भट्टले शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि शारीरिक अभ्यास अपरिहार्य रहेको बताउँदै आगामी दिनमा यसखालका कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै मानन्धरले नेपाल खेलकुद क्षेत्रमा आशालाग्दो प्रगति गर्दै गएको उल्लेख गर्दै खेलमा लगानी बढाउनुपर्नेमा जोड दिए।

राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशलकुमार आचार्यले सो प्रतियोगिताबाट सञ्चारकर्मी, निगमका कर्मचारी र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर बनेको बताए।

निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपोको संयोजनमा आयोजित प्रतियोगितामा निगमका कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रका गरी करिब १३० जनाको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस