सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य सिङ्गिङ आइडल सिजन-३ मा प्रार्थना र हिमांशी प्रथम

२०८२ कार्तिक २१, ०५:२० खबर संवाददाता

धनगढी: धनगढीको चैतन्य पाठशालाले आफ्नो प्रमुख वार्षिक कार्यक्रममध्येको चैतन्य फुड फेस्टिवल तथा चैतन्य सिङ्गिङ आइडल सिजन-३ सफलतापूर्वक सम्पन्न गरेको छ। शुक्रवार कार्यक्रम गरिएको हो।

विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, आत्मविश्वास, संवाद कौशल, सांस्कृतिक पहिचान तथा सहकार्यद्वारा सिकाइलाई कक्षा बाहिर व्यवहारिक रूपमा विस्तार गर्न फुड फेस्टिवल र सिङ्गिङ आइडल प्रतियोगिताले मद्दत गर्ने विद्यालयले विश्वास लिएको छ।

कार्यक्रममा सुदूरपश्चिमको सांस्कृतिक पहिचान, देउडा गीत–सङ्गीतको प्रवर्द्धन र संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका वरिष्ठ देउडा गायक तथा सर्जक नरेन्द्रराज रेग्मी विशेष अतिथि एवं प्रमुख प्रेरक व्यक्तित्वको रूपमा उपस्थित थिए। उनले विद्यालयमा आयोजना गरिने अतिरिक्त क्रियाकलापले भाषा, कला, सङ्गीत र सांस्कृतिक पक्ष बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए। रेग्मीले चैतन्य पाठशालाले शिक्षासँगै संस्कार, पहिचान र संस्कृति संरक्षणको क्षेत्रमा खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए।

फुड फेस्टिवलअन्तर्गत चार समूहबिच प्रतिस्पर्धा भएकोमा प्रकृति समूह पहिलो बन्न सफल भएको छ। यो प्रतियोगिताले विद्यार्थीहरूमा पाककलाको सिकाइसँगै सहकार्य, अनुशासन र सामूहिक अभ्यासको संस्कारलाई अझ सुदृढ बनाउने विद्यालयको विश्वास रहेको पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए।

यस्तै सिङ्गिङ आइडलतर्फ सिनियरतर्फ कक्षा ८ मा अध्ययनरत प्रार्थना बिक प्रथम, सोही कक्षाका उमेश ढाँट द्वितीय र कक्षा ११ की निरुता बोहरा तृतीय भएका छन्।
जुनियरतर्फ भने कक्षा ३ की हिमांशी मल्ल प्रथम, कक्षा ४ का ईश्वर जोशी द्वितीय र कक्षा ५ की दीपशिखा साउँद तृतीय भएका छन्।

यस्ता गतिविधिहरू केवल प्रतिस्पर्धाका लागि मात्र नभई भावनात्मक बुद्धिमत्ता, मूल्य, सांस्कृतिक समझ र जीवन उपयोगी सीप विकासमा योगदान पिर्‍याउने भएकाले यसलाई आगामी दिनमा अझ प्रभावकारी ढङ्गले विस्तार गरिँदै जाने पाठशालाका निर्देशक कटक बहादुर सिंहले बताए।

कार्यक्रमको निर्णायकको रूपमा सुप आइडल विजेता समीर परियार र सनम परियार रहेका थिए।

कमेन्ट लोड गर्नुस