सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया बजारका नाली जाम, नगरपालिकाले सुरु गर्‍यो सरसफाइ अभियान

२०८२ कार्तिक २१, ०३:३१ खबर संवाददाता

अत्तरिया : गोदावरी नगरपालिकाले अत्तरिया बजारका मुख्य सडकका नालीहरू सफा गर्न थालेको छ। बुधबारदेखि अत्तरिया चोक, पूर्व रोड र महेन्द्रनगर रोडका नाली सफा गर्ने काम सुरु गरिएको हो।

नगरपालिकाका कर्मचारी परमल महराका अनुसार,चार महिनाअघि नाली सफा गरिएको भए पनि पुनः व्यवसायीहरूले फोहोर फाल्दा नाली जाम भएको पाइएको छ। “नालीमा फोहोर थुपार्दा पानी जम्ने समस्या बढेको छ,” उनले भने, “अब नालीमाथि ढक्कन लगाइँदैछ, त्यसैले पुनः सरसफाइ भइरहेको हो।”

सडक डिभिजन कार्यालय महेन्द्रनगरसँगको समन्वयमा नालीमाथि ढक्कन लगाउने तयारी भइरहेको छ। डिभिजनका प्रमुख इन्जिनियर राजेश कुमार यादवका अनुसार, अत्तरिया बजारका मुख्य सडकका नालीमा ढक्कन राख्ने कामका लागि लटिनाथ कन्स्ट्रक्सनसँग २३ लाख रुपैयाँमा सम्झौता भइसकेको छ।
“यो रकमले हालका लागि ढक्कन मात्र लगाइन्छ,” यादवले भने, “बाँकी कामका लागि अर्को टेन्डरपछि अघि बढाइनेछ।”

अत्तरिया चोकमा वर्षायाममा पानी जाम हुने र सडक डुबान हुने समस्या निरन्तर दोहोरिँदै आएको छ। स्थानीयले पटक–पटक गुनासो गरेपछि त्यस क्षेत्रको नाली पूर्वतिर बग्ने गरी ड्रेन निर्माणका लागि बजेट माग गरिएको यादवले बताए।

नालीको ढक्कन नभएका कारण गत वर्ष वर्षायाममा दुई बालबालिका नालीमा खसेका थिए। ठाउँ–ठाउँमा ढक्कन फुटेका कारण सडकमा खाल्डा बनेका छन्, जसले दुर्घटनाको जोखिम बढाएको छ। पानी जम्दा अत्तरिया बजार कुरूप बन्नुका साथै दुर्गन्ध र फोहोरले वातावरण पनि दूषित बनाएको छ।
 

कमेन्ट लोड गर्नुस