सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली आयुर्वेद औषधालयमा बिरामीको भीड

२०८२ कार्तिक १९, ०४:५३ रासस

दोधारा चाँदनी (कञ्चनपुर): प्राकृतिक उपचार पद्धति प्रभावकारी बन्दै गएपछि महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा बिरामीहरूको आकर्षण तीव्र रूपमा बढेको छ।
आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारिता देखिन थालेपछि यसमा विश्वास राख्ने बिरामीहरूको संख्या लगातार बढिरहेको महाकाली आयुर्वेद औषधालयका सूचना अधिकारी दीर्घबहादुर रावलले जानकारी दिए। उनका अनुसार, ग्यास्ट्रिक, बाथरोग, सुगर, प्रेसरलगायतका रोगका बिरामी उपचारका लागि आउने गरेका छन्।


रावलले भने, “पछिल्लो समय सुगर, प्रेसर, ग्यास्ट्रिक र पञ्चकर्म सेवा लिन आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। अन्य ठाउँमा उपचार गराएर ठीक नभएका बिरामी पनि यहाँ उपचारका लागि आउने गरेका छन्।” उनका अनुसार, अस्पतालमा दैनिक ५० देखि ६० जना बिरामी उपचारका लागि आउने गरेका छन्।


अस्पतालले बिरामीलाई आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गर्ने गरेको छ। सेवा लिने बिरामीको चाप बढ्दै गए पनि पूर्वाधारको अभावले सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ। हाल अस्पतालले विसं २०५२ मा निर्माण भएको जीर्ण भवनबाटै सेवा दिइरहेको छ।


रावलका अनुसार, “बिरामीको चाप धेरै छ तर भौतिक संरचना कमजोर भएकाले समस्या भएको छ। यस पटक भवन निर्माणका लागि प्रदेश सरकारबाट रु साढे चार करोड बजेट प्राप्त भएको छ।” उनले थप जानकारी दिए कि अस्पतालमा पञ्चकर्म र पूर्वकर्म सेवाका लागि आउने बिरामीको संख्या अन्य सेवाभन्दा बढी छ।


सेवाग्राहीहरूका अनुसार, औषधालयले दिने सेवा प्रभावकारी भए पनि साँघुरो कोठामा उपचार गर्न जाँदा कठिनाइ हुने गरेको छ। स्थानीय गणेश भट्टले भने, “मैले पञ्चकर्म सेवा लिएपछि स्वास्थ्यमा सुधार भएको छ, यहाँको सेवा निकै राम्रो छ। तर भवन जीर्ण छ, साँघुरो कोठामा पर्दा लगाएर उपचार गर्नुपर्छ, जसले असहज बनाएको छ।” उनका अनुसार, सुविधा सम्पन्न भवन बनेमा बिरामीलाई अझ सहज उपचार सम्भव हुने थियो।


यद्यपि आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढ्दै गए पनि सरकारको प्राथमिकतामा नपरेकाले भौतिक संरचना निर्माण हुन नसकेको स्थानीयहरूको भनाइ छ। स्थानीय विष्णु दत्त पन्तका अनुसार, “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सरकारले बेवास्ता गर्नु हुँदैन। आयुर्वेदिक औषधालयमा भौतिक संरचना र जनशक्ति थपिनु आवश्यक छ। आयुर्वेदिक उपचारमा अन्य औषधिभन्दा ‘साइड इफेक्ट’ पनि कम हुन्छ।”


महाकाली आयुर्वेद औषधालयले ओपीडीमार्फत स्वास्थ्य परीक्षण गरी निःशुल्क रूपमा औषधि वितरण गर्दै आएको छ। अस्पतालका तथ्यांक अनुसार, चालु आर्थिक वर्षमा हालसम्म १३ हजार ६३३ जनाले उपचार सेवा लिएका छन्, जबकि गत आर्थिक वर्षमा २६ हजार बिरामीले यहाँ सेवा लिएका थिए।
 

कमेन्ट लोड गर्नुस