घोडाघोडी तालमा पर्यटकको आगमन बढ्दै
घोडाघोडी (कैलाली): जैविक विविधता र पर्यटकीय महत्त्वका कारण घोडाघोडी तालमा तिहारपछि आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। यहाँ आउने अधिकांश पर्यटकहरू घोडाघोडी ताललाई प्रमुख गन्तव्य मानेर भ्रमण गर्न आएका छन् भने कतिपय पर्यटक अन्य स्थानहरू घुम्नै जाँदा तालको दृश्यावलोकनका लागि समय निकालेर यहाँ पुग्ने गरेका छन्।
बाँकेको कोहलपुरबाट कञ्चनपुरसम्म भ्रमण गरेका पर्यटकहरूको एउटा समुह घोडाघोडी तालमा पुगेपछि प्राकृतिक सौन्दर्यमा रमाइरहेका थिए। त्यही समुहकी पर्यटक सम्झना चौधरीले यसलाई आफ्नो पहिलो अनुभव बताउँदै भनिन्, “सुनेको थिए तर घुम्न आएको थिइन। यो ताल निकै ठूलो छ, यहाँ दिनभर घुम्न सकिन्छ। अर्को पटक यस तालमा दिनभर घुम्न आउनु पर्छ।”
तालको वरिपरि पर्यटनको विकाससँगै वनभोजको व्यवस्था पनि गरिएको छ। टेग्नुवा महिला सामुदायिक वन क्षेत्रमा वनभोजका लागि विशेष स्थान छुट्टाइएको छ, जहाँ अहिले पर्यटकको भिड पनि बढेको छ। भजनीबाट वनभोज कार्यक्रमका लागि आएका निशा चौधरीले भनिन्, “साथीहरूसँग वनभोज गर्दा नाचगान र घोडाघोडी ताल घुम्ने अवसर पाइन्छ, त्यसैले हामी यहाँ आएका हौं।“
घोडाघोडी तालमा पर्यटकको संख्या बढेसँगै यहाँका ठेला व्यवसाय पनि राम्रो चलेका छन्। स्थानीय गीता घर्तिले तिहारपछि पर्यटकको आगमनमा वृद्धि भएको बताउँदै दैनिक ३,००० देखि ५,००० रुपैयाँसम्म पोशाक भाडामा दिन र तस्बिर खिचेर आम्दानी भइरहेको बताइन्।
यसैबीच, घोडाघोडी ताल क्षेत्रको प्रवेश शुल्क पनि दस रुपैयाँ तोकिएको छ। पहिले घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चले यो शुल्क उठाइरहेपनि, अहिले सामुदायिक वन उपभोक्ता समूहले शुल्क उठाउन थालेको छ। सामुदायिक वनका अध्यक्ष दीपक शाहका अनुसार, “घोडाघोडी नगरपालिकाले ठेक्कामा शुल्क उठाउन दिने योजना बनाएको थियो, तर नगरपालिका र मञ्चको बीचमा समन्वय नगरी काम अघि बढ्न सकेको छैन। हामीले यो शुल्क उठाउन थालेका हौं।“
उठेको शुल्क घोडाघोडी तालको विकासमा लगाउने योजना गरिएको छ, र यस क्षेत्रको फोहर संकलनको जिम्मा एक जनालाई दिइएको छ जसलाई मासिक आठ हजार रुपैयाँ तलब दिइन्छ।
यस बीच, घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ताल क्षेत्रको एकद्धार राजस्व सङ्कलनको लागि १५ लाख रुपैयाँको ठेक्का आव्हान गरेको थियो। तर, थप ठेक्का रकम ४१ लाख रुपैयाँको ठेक्का स्थानीय धनन्जय कठायतलाई परेको र सम्झौतामा ढिलाइ भएको कारण ठेक्का कार्यान्वयनमा अझै समस्या आएको छ।