डडेल्धुरा बसपार्क निर्माणको कार्य सुस्त गतिमा
डडेल्धुरा: डेढ दशकदेखि अल्झिरहेको डडेल्धुरा बसपार्क निर्माण सुस्त भएको छ। बसपार्कको गत असार पहिलो साता शिलान्यास गरिए पनि निर्माण सुस्त गतिमा अगाडि बढिरहेको छ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका –८ डकलेमा बन्ने बसपार्क क्षेत्रबाट विद्युत् लाइन गएको हुँदा निर्माणले गति लिन नसकेको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका साइड इन्चार्ज दीपक ओझाले बताए।
१० करोड ३० लाख १६ हजार रुपियाँ लागतमा व्यवस्थित बसपार्क निर्माणका लागि ठेक्का सदर भएको थियो । गत असारदेखि निर्माणको काम थालिए पनि बझाङ जिल्लासँग जोडिएको विद्युत्को ३३ केभी र स्थानीयको जग्गासँगै बैतडी, दार्चुलासम्म जोडिएको ११ केभी लाइनका कारण काममा ढिलाइ भइरहेको साइड इन्चार्ज ओझाले बताए ।