सुदूरपश्चिमाञ्चल साहित्य समाजको पैसा कता हरायो?
धनगढीः धनगढीमा २०५१ सालमा खुलेको सुदूरपश्चिमाञ्चल साहित्य समाजमा स्थापना भएका अक्षयकोषको रकम हिनामिना भएको तथ्य सार्वजनिक भएको छ।
साहित्य समाज धनगढीमा स्थापना भएका पाँच वटा अक्षय कोषको रकम हिनामिना भएको पाइएको छ। साहित्य समाजमा खुलेका अक्षयकोषको रकम खर्च कसले गर्यो भन्ने विवरण भने सार्वजिक भएको छैन।
मूलधन खर्च नगरी व्याजबाट साहित्य पुरस्कार दिनेगरी बैंक खातामा सञ्चित गरिएको कोषको रकम खर्च गरिएको पाइएको छ। संस्थाको लेखा परीक्षण प्रतिवेदन २०८२ मा अक्षयकोषमा जम्मा १४ लाख रुपैयाँ मात्रै मौज्दात रहेको देखिएको छ।
विभिन्न मितिमा सुदूरपश्चिम साहित्य समाज धनगढीमा २६ लाखको पाँच वटा अक्षयकोष खडा भएका थिए। स्रष्टाहरूलाई पुरस्कार दिन धनगढीका दानवीर वद्रीनाथ भण्डारीले 'वद्री कृष्णा वाङ्मय पुरस्कार' दिन ११ लाखको अक्षयकोष स्थापना गरिएका थिए। यसैगरी, आरडी प्रभास चटौत विविध पुरस्कार' प्रदान गर्न ११ लाखको अक्षयकोष खडा गरिएको थियो। यस्तै, 'सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार' का लागि दुई लाख तथा 'विष्णुदास यज्ञ साहित्य पुरस्कार' र गणेश स्मृति हेमन्ती साहित्य पुरस्कारका लागि १/१ लाखको अक्षयकोष खडा गरिएको थियो। साहित्य समाजले अक्षयकोषको २६ लाख मध्ये १२ लाख रुपैयाँ हिनामिना गरेको तथ्य लेखापरीक्षण प्रतिवेदनबाट सार्वजनिक भएको छ।
अक्षयकोषको रकम खर्च गरेको सूचना करिब ६ महिना अगाडि पाएको तर समितिलाई सोधपुछ गर्दा आफूहरूलाई यथार्थ कुरा नबताइएको 'वद्री कृष्णा वाङ्मय पुरस्कार' संस्थापक बद्रीनाथ भण्डारीका बुहारी चित्रा भण्डारीले बताइन्।
मूलधन खर्चनगरी ब्याजबाट पुरस्कार वितरण गर्नुपर्नेमा अक्षयकोषकै रकम खर्चिनु गलत भएको उनले बताइन्। 'सोधखोज गर्दा पूर्व अध्यक्ष तीर्थराज पाण्डेय र वर्तमान अध्यक्ष रामलाल जोशीले अनुनय विनय गरेको र तीन महिनाभित्र विवरण सार्वजनिक गर्ने बताएका थिए। रकम कसले र किन खर्च भयो बताएका छैनन्, अहिले पनि तीन महिनाभित्र सबै रकम जम्मा गर्ने भनेका छन्,' भण्डारीले दिनेशखबरसँग भनिन्।
साहित्य समाजको लेखापरीक्षण प्रतिवेदनमा २०८१ असार मसान्तसम्म संस्थाको नगद मौज्दात जम्मा ३० हजार १२८ रुपैयाँ ९४ पैसा छ। यो रकम बढेर २०८२ असार मासन्तमा भने १३ लाख १९ हजार ४६९ रुपैयाँ ५७ पैसा पुगेको छ। २०८१ फागुन २१ गतेदेखि लगाइएको महायज्ञबाट उठेको रकम थपिँदा १३ लाख १९ हजार ४६९ रुपैयाँ ५७ पैसा नगद मौज्दात देखिएको हुनसक्ने अनुमान असन्तुष्ट साहित्यकारहरूको छ।
साहित्य समाजको तीन वटा खाता नवजीवन सहकारी धनगढीमा छ भने कृषि विकास, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकमा एक/एक खाता छन्। यदी अक्षयकोषको खाता यिनै हुन भने २६ लाख राशीमा पाँच अक्षयकोषको केबल १३ लाख १९ हजार ४६९ रुपैयाँ ५७ पैसा मात्रै बचत देखिन्छ। यसबाट गत फागुनमा लागेको महायज्ञबाट संकलन भएको रकम कता गयो? भन्ने प्रश्न नाम उल्लेख गर्न नचाहने एक साहित्यकारको छ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजमा खुलेका अक्षयकोषको रकम पुरस्कार वितरण जस्ता विविध काममा खर्च भएको साहित्य समाजका अध्यक्ष रामलाल जोशीको दाबी छ। तर, जानकारहरूले भने सापटी भनेर प्रभावशाली व्यक्तिहरूले लगेको रकम फिर्ता नगर्दा अक्षयकोषको मासिएको तर्क गरेका छन्।
२६ लाखको पाँच वटा अक्षयकोषको रकम हिनामिना गरिएकाले ११ लाख रुपैयाँको 'बद्री कृष्णा वाङ्मय पुरस्कार' को राशी ५ लाखमा झारिएको छ भने ११ लाख रुपैयाँकै 'आरडी प्रभास चटौत विविध पुरस्कार' को पनि राशी पनि ५ लाख नै रहेको विवरण लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।
सम्बन्धित समाचार
सुदूरपश्चिमाञ्चल साहित्य समाजमा खुलेका अक्षयकोषको रकम हिनामिना!