सुदूरपश्चिममा युरिया मलको चरम अभाव
धनगढीः सुदूरपश्चिमममा युरिया मलको चरम अभाव भएको छ। युरिया मल नपाउँदा गहुँ, तोरी, मसुरो लगायत खाद्य, दलहन तथा तेलहन बाली र आलु तरकारी लगाउने तयारीमा रहेका किसानहरु समस्यामा परेका छन्। धनगढी उपमहानगरपालिका–३ बडहराका किसान मधु चौधरीले बालीनाली लगाउने बेला सुरु भइसक्दासम्म मलखाद नपाएर तनाब भएको बताए।
कैलालीको भजनी नगरपालिका–९ का डबलबहादुर बोगटीले किसानहरुले मल नपाएर खेत जोतेर खाली बस्नु परेको बताए। ‘मल कहिलेसम्म आउँछ थाहा छैन। किसानलाई जहिलै मलखादकै समस्या हुन्छ,’ उनले भने। सुदूरपश्चिममा मलखाद आपूर्ति तथा बिक्रि वितरण गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड हुन्।
अहिले दुबै निकायमा युरिया मल छैन। ‘डिएपी छिटफुट भएपनि युरिया भने छैन,’ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालयका सहायक प्रमुख रामचन्द्र जोशीले भने, ‘कहिले कति परिमाणमा आउँछ, अहिले केही भन्न सकिदैन। केन्द्रले कहिले पठाउँछ भन्नेमा भर पर्छ।’ सुदूरपश्चिमले पाउने मलखादको कोटामा ३० प्रतिशत साल्ट ट्रेडिङ र ७० प्रतिशत कषि सामग्रीले प्राप्त गरेर बिक्रि गर्ने गरेका छन्।
कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवसिंह बोगटीले आउँदो मंगलबारदेखि मल बिक्रि सुरु गर्ने प्रयास गरिरहेको बताए। ‘दैनिक १ सय २५ मेट्रिक टन बिक्रि गर्न पुग्ने परिमाणमा मौज्दात भए मात्रै बिक्रि सुरु गर्छौं,’ बोगटीले भने, ‘बिहीबारसम्म डेढ सय मेट्रिक टन मात्र आइपुगेको छ।’ कम्पनीको प्रादेशिक कार्यालयले कञ्चनपुर र डोटीबाहेकका जिल्लाका किसानका लागि मल बिक्रिवितरण गर्दै आएको छ। कञ्चनपुर र डोटीमा कम्पनीको आफ्नै कार्यालय छ।
प्रादेशिक कार्यालय प्रमुख बोगटीका अनुसार सुदूरपश्चिममा भैरहवाबाट मल आउने गरेको छ। नेपालमा कूल आयात हुने मलमा सुदूरपश्चिमको ९.२२ प्रतिशत युरिया र ९.०७ प्रतिशत डिएपीको कोटा हुने गरेको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा कम्पनीको धनगढी कार्यालयले युरिया १२ हजार ८ सय ४३ मेट्रिक टन र डिएपी ८ हजार ६ सय ४७ मेट्रिक टन बिक्रि गर्न पाएको थियो । ‘कूल मागको आधा परिमाण पनि होइन यो,’ कार्यालय प्रमुख बोगटीले भने, ‘बार्षिक ३० हजार मेट्रिक टन हाराहारी युरिया र डिएपीको माग हुने गर्छ।’ किसानले मल अभाव टार्न भारतीय सीमा क्षेत्रबाट चोरीको मल ल्याउने गर्छन्।
‘यस वर्ष भारतीय सीमा क्षेत्रका बजारमा पनि मलखाद पाइएको छैन’ कैलारीका एक किसानले भने। कम्पनीले हाल डिएपीको मूल्य प्रतिक्विन्टल ४ हजार ७ सय ७३ र युरिया प्रतिक्विन्टल १ हजार ८ सय ७३ रुपैयाँ निर्धारण गरेको छ। कम्पनीले किसानलाई सिधै बिक्रि नगरी निजी क्षेत्रका व्यापारी तथा सहकारीहरुलाई कोटा निर्धारण गरेर मलखाद बिक्रि गर्दै आएको छ।
कृषि सामग्री कम्पनीले उपलब्ध गराएपछि डिलरहरुबाट किसानले मल किन्न पाउने ब्यवस्था छ। यसरी डिलर तोक्दा सम्बन्धित स्थानीय तहको सिफारिसमा एउटा वडामा कम्तीमा दुई वटा बिक्रेता निर्धारण गरिँदै आएको कार्यालय प्रमुख बोगटीले बताए। ‘कैलाली जिल्लाभर करिब चार सय डिलर तोकेका छौं,’ उनले भने, ‘धनगढीमा ४७ वटा बिक्रेता निर्धारण गरेका छौं।’ एउटा बिक्रेतालाई उपलब्ध गराइने मलको परिमाण भने यकिन नहुने बोगटी बताउँछन्। स्थानीय तहको वडा कार्यालयको सिफारिस तथा मूल्य निर्धारण भए अनुसार हुने गरेको उनले बताए।